नयाँ दिल्ली (एजेन्सी)– चर्चित गायक पपोन एउटा रियालिटी शोमा जुनियर प्रतियोगीलाई चुम्बन गरेको मुद्दामा फसेका छन्। उनले होलीको अवसरमा राखिएको पार्टीको अवसरमा एक प्रतियोगीलाई चुम्बन गरेका थिए। जुन सर्वोच्च अदालतमा मुद्धा परेको छ। वकिल रुना भुइयाले ‘पोस्को’ नियमको आधारमा गायक पपोनविरुद्ध मुद्धा दायर गरेकी हुन्। तर, पपोनका वकिलले मुद्धाको विषयमा आपत्ति जनाए। सोसल मिडियामा पनि पपोनविरुद्ध विरोधको माहोल बनेको छ।
‘मोह मोह के धागे’ गीतबाट चर्चा कमाएका पपोन पछिल्लो समय हिन्दी म्युजिक इन्डस्ट्रीमा कहलिएका अनुहार हुन्। उनको लाखौं प्रसंशक छन्।
पपोनको वास्तविक नाम अङ्गाराग महन्ता हो। उनी असम निवासी हुन्। फोक–फ्युजन ब्यान्ड ‘पपोन’ र ‘द इस्ट इन्डिया कम्पनी’ का उनी संस्थापक गायक हुन्। उनको बुवा असमको चर्चित लोक गायक थिए। उनले असमी भाषाबाहेक पनि हिन्दी, पञ्जावी, तमिल, मराठी र बंगाली भाषामा गीत गाइसकेका छन्। उनलाई इन्डियन क्लासिकल, बोरगीत र लोक गीतमा महारथ हासिल छ।
उनको पहिलो हिन्दी एल्बम २०१२ मा रिलिज भएको थियो। जसको नाम ‘दि स्टोरी सो फार’ थियो। यो एल्बमका लागि उनलाई जिग्मा अवार्डबाट सम्मानित गरिएको थियो। गीतबाहेक उनलाई अभिनयमा पनि सौख छ। उनले असमी फिल्म ‘रोडोर सिथी’ मा डेव्यु गरिसकेका छन्।
हिन्दी फिल्ममा उनले ‘दम मारो दम’ को गीत ‘जिये क्यो’ बाट ब्रेक लिएका थिए। यस बाहेक उनले लम्बोका कारोबार (बेफिक्रे), बुलैया (सुल्तान), मोह मोह के धागे (दम लगा के हईशा), हमनवा (हमारी अधुरी कहानी), लकिरे (क्या दिल्ली क्या लाहोर), क्यो (बर्फी) जस्ता फिल्ममा हिट गीत गाइसकेका छन्। उनी म्युजिक रियालिटी शो भ्वाइस अफ इन्डियाको जज हुन्।
उनले सलमान खानको फिल्म सुल्तानमा ‘बुलैया’ गीत गाएका थिए। जसलाई सलमानले आफ्नो लोकप्रिय सूफी गीत भनेका थिए। उनी मुम्बईमा श्रीमती श्वेता मिश्रासँग बसोबास गर्ने गर्छन्। उनको १ छोरा र १ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।