तेहरान- अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिवन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’को सङ्केत गर्दछ। दुर्भाग्यवस अमेरिकी कूटनीतिले मध्यस्थतामार्फत् आफ्नो क्षमता देखाउनुभन्दा हस्तक्षेप र आर्थिक आतङ्कमा विश्वास गर्न थालेको छ।'
'इरान सन्दर्भमा असफलताको कारक बनेका एकपछि अर्को प्रतिबन्धको नीतिलाई अमेरिकाले त्याग्नुपर्छ र सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रले इरानसँग गरेको आणविक सम्झौतालाई पुनः कार्यान्वयनमा ल्याउनुपर्छ,' प्रवक्ता मौसवीले थपे।
अमेरिकाले गत बिहीबार इरानको निर्माण क्षेत्रमा प्रतिवन्धको घोषणा गरेको थियो। इरानको ‘स्लामिक रिभोलुसनरी गार्ड’लाई अमेरिकाले आतङ्कवादी समूह बताउँदै आएको छ। उक्त समूहको निर्माण क्षेत्रमा प्रभाव रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्रतिवन्धको घोषणा गरेका हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।