काठमाडौं- विशेष अदालतले पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियत राख्दै ‘पिक एन्ड चुज’का आधारमा अनुसन्धानमा तानिएका व्यक्तिमध्ये केहीलाई मात्र विपक्षी बनाई मुद्दा दायर गरेको भन्दै नियतमाथि प्रश्न उठाएको छ।
‘५० जनामाथि अनुसन्धान थालिए पनि २३ जनालाई मात्र प्रतिवादी किन बनाइयो भन्ने प्रश्न हामी फैसलामा उठाउँछौं,’ विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीले भने, ‘कुन मापदण्ड र आधारमा उनीहरु सरकारी साक्षी भए र अन्य व्यक्ति मुद्दाका आरोपित भए खुल्न जरुरी देखिन्छ।’
तत्कालीन समयमा अख्तियारमा प्रमुख आयुक्त लोकमानसिंह कार्की थिए। लामो समय अख्तियारमा उक्त मुद्दा तामेलीमा बसेको थियो। संसदको लेखा समितिले पर्यटन बोर्डका प्रमुख सुवास निरौलाको नेतृत्वमा भ्रष्टाचार भएको ठहर गर्दै तत्काल मुद्दा चलाउन निर्देशन दिएको थियो। संसदको दबाबपछि अख्तियारले करिब १ अर्ब रुपैयाँ बराबर अनियमितता सम्बन्धी मुद्दा २०७१ चैतमा विशेषमा दायर गरेको थियो।
बोर्डका अन्य २९ कर्मचारीलाई हस्ताक्षर गर्न दबाब दिएको दाबी गर्दै अख्तियारले आफ्ना अनुसन्धान अधिकृतलाई सहयोग पुर्याचएकाले सजायको हकमा पूर्ण छुट गर्न अनुरोध गर्दै उनीहरूलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको थियो।
अख्तियारले बोर्डका कर्मचारीहरु उदय भट्टराई, नवीन पोख्रेल, शरद प्रधान, प्रदीप पौडेल, गोविन्दराज ओली, उज्जला दली, मणिराज लामिछाने, सुनिल शर्मा, विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई र नम्रता श्रेष्ठलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो।
यस्तै, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणीप्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोषविक्रम थापा, लेखनाथ भुसाल, श्रद्धा श्रेष्ठ, प्रदीप बस्नेत, अर्चना केसी, खड्कविक्रम शाह, खेमराज तिमल्सिना, जानकीप्रसाद उपाध्याय र मदनकुमार लामिछानेलाई पनि अख्तियारले साक्षीको रुपमा राखेको थियो।
अख्तियारले कार्यकारी प्रमुख सुवास निरौलासहित २३ जनालाई मात्र विपक्षी बनाएको थियो। अख्तियारले विपक्षी बनाएकामा पर्यटन बोर्डका कर्मचारीहरुमा पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, नन्दिनीलाहे थापा, हिक्मतसिंह ऐर, आदित्यमान बराल, काशीराज भण्डारी, अनिलकुमार दास, लक्ष्मण गौतम, धुव्र राई, लिलाबहादुर बानियाँ र दिवाकरविक्रम राणा थिए।
त्यस्तै अख्तियारले विपक्षी बनाएकामा सचिवहरु शरदचन्द्र पौडेल, रञ्जनकृष्ण अर्याल, सुशील घिमिरे, मेघबहादुर पाण्डे तथा सहसचिव डिल्लीप्रसाद शिवाकोटी र रतिशचन्द्र लाल सुमन थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।