पाकिस्तान- पाकिस्तानको रेलमा भएको आगलागीमा परि मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ।
रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। घटनामा अन्य दर्जनौं घाइते भएका छन्। पाकिस्तानी अधिकारीका अनुसार मृत्यु भएका र घाइते भएकाहरू तीर्थयात्री रहेको समाचारमा जनाइएको छ।
पाकिस्तानको कराँची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी भएको हो। पाकिस्तान रेल-वेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डब्बामा आगलागी भएको थियो।
कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा मृत्यु भएको हो।
बिहीबार बिहान दुर्घटना भएको घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगर नजिकै पर्दछ।
घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन्। साथै घटनाका बारेमा छानबिनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन्।
रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने र लापरबाहीका कारण पाकिस्तानमा रेल दुर्घटना धेरै हुनेगरेको अधिकारीहरुले बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।