डोल्पा- गाउँमा सडक पुगेपछिको तामझाम र खुसीयाली कुनै उत्सवभन्दा कम हुँदैन। पहिलोपटक गाडी पुग्दा बाजागाजा नाचगानसहित अबिर जात्रा नै देखिन्छ। नहोस् पनि किन! सडक नहुँदाको सास्तीले यति पिरोलेको हुन्छ कि सडकको आगमनले सुखको मीठो अनुभूति दिन्छ।
तर, कतिपय ठाउँमा सडकको निर्माणपछि पनि स्थानीय बासिन्दाले सोचेको सुखको अनुभव भने गर्न पाएका छैनन्। हुन त भौगोलिक विकटताले भोग्नुपर्ने अप्ठ्यारा कथाहरु निकै छन्। यसमा धेरै त यातायातसँगै जोडिन्छ। कतै सडक छैनन्, सडक भएका कतिपय ठाउँमा पनि खोलामा पुल छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र देशभरबाट तुइन विस्थापित गर्ने निर्णय गरेका थिए। नदी तर्न असाध्यै असुरक्षित हुने तुइन विस्थापनको घोषणाले धेरैको मुहार उज्यालियो। तुइन चुँडिएर ज्यान गुमाउन नपर्ने अवस्थाको कल्पना सुखद हुने नै भयो।
प्रधानमन्त्रीले घोषणा गरेजस्तो दुई वर्षभित्र तुइन विस्थापित भइसकेको छैन। तर, तुइन विस्थापन गर्ने काम भने निरन्तर भइरहेकै छ।
खच्चडलाई भारी बोकाएर चढ्नुपर्ने अप्ठ्यारा गौंडाहरु छिचोलेर कतिपय ठाउँमा सडक पनि बनेका छन्। तर, निरस डाँडाहरु काटेर सडक बनेपछि खुसी भएका मान्छेमा गाडी आएसँगैको अर्को दुःख भने थपिएको छ। यस्तै दुःखको एउटा कथा डोल्पातिर देखिन्छ।
.JPG)
डोल्पा हालसम्म केन्द्रीय सडक सञ्जालसँग जोडिन सकेको छैन। सरकारले देशका सबै जिल्लालाई केन्द्रीय सडक सञ्जालसँग जोड्ने बाचा गरेको वर्षौं बितिसक्यो। सरकारको बाचालाई माथि बसेको डोल्पाले नराम्ररी गिज्याइरहेको छ। सडक नभएका ठाउँमा तुइनको कठीन यात्रा बाध्यता भए पनि सडक भएका ठाउँमा पनि पुल नहुँदा सवारी नै तुइनको भर पर्नुपरेको छ।
यसैले त डोल्पामा कि त टिकट पाउनै मुस्किल हवाइजहाजको भर पर्नुपर्छ, कि त तुइनबाट तारिएको जिपको महँगो किस्ताबन्दी यात्रा गर्नुपर्छ। डोल्पामा पछिल्लो समय फोक्सुण्डो यात्रामा जाने पर्यटकले यस्तै सास्ती भोगिरहेका छन्।
हवाइजहाजमा जाँदा नेपालगञ्जबाट उडेपछि सिधै डोल्पाको जुफाल विमानस्थल पुगिन्छ। त्यहाँबाट फोक्सुण्डो जान आधा घण्टाजति जिपमा गएपछि सुलिगाड पुगिन्छ। जुफालबाट हिँड्ने नै हो भने सामान्य हिँडाइले दुई घण्टामा सुलिगाड पुग्न सकिन्छ। फोक्सुण्डो जान सुलिगाडबाटै उकालो लाग्नुपर्छ।
तर हवाइजहाजको बाटो पहुच हुने केहीलाई मात्रै छ। बाँकी त रुकुमको राडीज्यूला बजारबाट तल्लुबगर पुगेपछि किस्ताबन्दीमा जिपको यात्रा गर्न बाध्य छन्। राडीज्यूलाबाट ठूलीभेरी नदी पारि हुँदै तल्लुबगर र त्यहाँबाट जाजरकोटको त्रिपुरा नलगाड नगरपालिकादेखि डोल्पाको सुलिगाडसम्म ६ पटक जिप परिवर्तन गर्नुपर्छ।
.JPG)
जाजरकोट खलंगा हुँदै राडीज्यूलासम्म काठमाडौंबाटै बस लाग्छ। त्यहाँबाट पारि तरेपछि जाजरकोट तल्लुबगर पुगिन्छ। पारि जान ठूलीभेरीमा गाडी तर्ने पुल छैन, मानिस तर्न झोलुंगे पुल भने छ। यसैले राडीज्यूला पारि चल्ने सबै जिप तुइनबाट तारिएका हुन्।
२०७३ जेठमा नेपाली सेनाको सडक निर्माण कार्यदलले जाजरकोट-डोल्पा-भेरी करिडोर मार्ग अन्तर्गत डोल्पाको सिमाना त्रिवेणीसम्म सडक बनाएको थियो। त्यही सडक डोल्पा दुनैसम्म विस्तार भएपछि २०७५ को मंसिरमा तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले तामझामसहित उद्घाटन गर्दै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरेका थिए।
१ सय १८ किमिको उक्त सडकमध्ये जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी-सुपानीसम्म १ सय ३ किमि नेपाली सेनाले तथा सुपानीदेखि डोल्पा सदरमुकाम दुनैसम्म १४ किमि स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो।
रिम्ना, मनमाइतहरा, तल्लुबगर, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे गाउँ हुँदै अक्कर र भीर पहरा फोडेर सेनाले सडक बनाए पनि बीचमा खोलाले छुट्याएका ठाउँहरुमा अझै पक्की पुल बनेका छैनन्। जसले गर्दा दुई खोलाको बीचको सडक क्षेत्रमा चलिरहेका जिप र ट्याक्टरहरु तुइनको सहयताले तारिएका हुन्।
तुइनबाट ट्याक्टर तारिँदै। तस्बिर- हेमन्त केसी, रासस/जाजरकोट।यसरी तुइनबाट एउटा जिप तार्न आफूहरुले एक लाख रुपैयाँसम्म खर्च गरेको रुकुम पश्चिम छोटेबगरका धनबहादुर थापाले बताए। छोटेबगरमै होटल सञ्चालन गरिरहेका उनीसँग पनि तुइनबाटै तारिएको एउटा जिप छ। जुन छोटेबगरदेखि १५ मिनेटमा पुगिने गन्तब्यसम्म चल्छ। धनबहादुरले तुइनबाट तारिएको शुल्कसहित जिप २६ लाख रुपैयाँमा ५ वर्षअघि किनेको सुनाए।
‘खोलामा पुल नुहँदा जिप, ट्याक्टर सबै नै तुइनबाट नै तारिएको हो। ठेक्कामा एउटा जिप तार्न मेरै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो। यहाँ अब किरा टिप्ने (यार्सागुम्बा) सिजनमा र फोक्सुण्डो जाने पर्यटक आउने समय जिप रोक्ने फुर्सद नै हुँदैन’ धनबहादुरले भने।
धनबहादुरले त दुईवटा खोलाबाट मात्रै तुइनको सहयताले जिप तारेकाले पछिल्ला अरु स्टेसनमा भन्दा सस्तोमै निप्टाए। होइन भने जति माथिल्लो स्टेशन पुगियो जिप खरिदका लागि त्यति नै धेरै मूल्य खर्चनु पर्छ। तुइन तारिने हरेक स्थानमा प्रति जिप एक लाख रुपैयाँ शुल्क तिर्नुपर्छ।
डोल्पाको त्रिपुराकोटजाजरकोटको त्रिपुरा नलगाड नगरपालिका ठूलीभेरी तिरमा रहेको तल्लुबगरबाट डोल्पाको सुलिगाड-दुनैसम्म पुग्न ६ वटा जिप बदल्नु पर्छ। जिप चढेपछिको पहिलो स्टेशन छोटेबगर हो, छोटेबगरपछि अर्काे स्टेशन रुकुमको गोतामकोट पर्छ। त्यहाँबाटै डोल्पा जिल्ला प्रवेश गरिन्छ। गोतामकोटबाट चढेको जिप डोल्पाको त्रिवेणी र त्यहाँबाट अर्को जिप कबरगाड पुगेर रोकिन्छ। हिँडेर त्यहाँ भएको झोलुङ्गे पुल तरेपछि अर्को जिप चढेर डोल्पाको खदाङ पुगिन्छ।
खदाङमा उसैगरी खोलाले बाटो रोक्छ। झोलुङ्गे पुल तरेर त्रिपुराकोट जाने अर्को जिप चढ्नुपर्छ। त्रिपुराकोटमा उसैगरी हिँडेर झोलुङ्गे पुल तरेपछि दुनै जाने जिप चढ्न पाइन्छ। त्यही नै ‘किस्ताबन्दी जिप यात्रा’को अन्तिम जिप हो।
.jpg)
ठूलीभेरीको छेउ हुँदै खनिएको बाटो चट्टाने पहाडका कारण सहज हुने छेउपट्टी खनिएको छ। यसले गर्दा एउटै नदीले धेरै पटक सडकलाई छुट्टाएको छ। यसैले त खोला आउने वित्तिकै जिप परिवर्तन गर्नुपर्दा यात्रुहरु आर्थिक हिसाबले पनि ठूलो मारमा पर्छन्। तुइनबाट तारिएको भन्दै छोटो दुरीमा पनि जिपभाडा महँगो तोकिएको छ।
स्टेशन नै पिच्छे फरक फरक भाडा दरमा जिप चढ्ने बाध्यता यात्रुलाई छ। ६ वटा स्टेशनमा एक सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म भाडा तोकिएका छन्। तोकिएको भाडा तिरेर पनि भनेकै समयका जिप गुड्दैनन्।
हरेक चालकको सर्त छ- जिप गुड्न सिट भरिनुपर्छ। भन्नलाई सिट भरिनुपर्छ भनिए पनि छतसमेत भरिएर ढोकामा झुण्डिने मान्छे नभएसम्म सितिमिति जिप गुड्दैनन्। यसैले एउटै जिपमा १५ देखि २० यात्रुसम्म कोचिनुपर्ने बाध्यता त छँदैछ। ट्राफिक नियम र अनुगमन त सोच्नुसम्म पनि मुर्खता देखिन्छ! चालक तथा जिप धनीहरुको मनमौजी नियम र क्षमता तोकनीबिना जिपको पाङ्ग्रो सर्दैन।
.jpg)
यस्तो सास्ती फोक्सुण्डो यात्रामा दैनिक गइरहेका सयौँ पर्यटकले भोगिरहेकै छन्। यसैगरी यात्रा गर्दा निक्कै असहज भएको अनुभव फोक्सुण्डो यात्रामा गएका भक्तपुरका गगन शाक्यको पनि छ।
‘यहाँ त मनोमानी नै हुने रहेछ, नयाँ ठाउँमा उनीहरुले जे भन्छन् त्यही मान्नुको विकल्प पनि त हुँदैन। एकै ठाउँमा रकम तिरेर टिकट लिएपछि सुलिगाड पुग्ने व्यवस्था मिलाउनु पर्ने हो’ उनी सुनाउँछन्, ‘साँझ परेपछि ५ सय लाग्ने स्टेशनको भाडा पनि ६ सय लिइने रहेछ। यसैले त सडक मार्ग भएर फर्किनु नपरोस् भन्ने लाग्छ।’
.JPG)
तुइन तरेर जाजरकोट र डोल्पामा चल्ने सवारीमा महिन्द्रा कम्पनीको बोलेरोको एक छत्र राज देखिन्छ। त्यसमा पनि ‘सिंगल क्याब’ र ‘डबल क्याब’ बोलेरो नै देखिन्छन्।
पहाडी बाटोमा गुडाउन हलुका सवारी सहज मानिन्छ। एक त साँघुरा र कच्ची बाटो अर्कोतर्फ तुइन तारेर गुडाउने ठाउँमा लैजानु पर्ने अवस्थाका कारण पनि हलुका सवारीको विकल्प देखिँदैन। त्यसैले पिकअप (जिप) वर्ग सवारी उक्त बाटोमा यात्रु तथा सामान बोक्न सञ्चालन भइरहेका छन्।
सडक बनेपछि जिप त जसोतसो तुइनबाट तारियो। तर बिग्रियो भने बनाउन फेरि तुइन तारेरै ल्याउनु? यो कठिन अवस्था आएपछि स्थानीय जिप धनिहरु मिलेर विकल्प रोजे- ‘जिप तुइनमा तारेर बनाउन लैजान सम्भव हुँदैन, त्यसैले मेकानिक नै सधैँका लागि राख्ने व्यवस्था मिलाउने।’
.jpg)
यसैले जाजरकोट र डोल्पामा रहेका हरेकजसो जिप स्टेशनमा गाडी मर्मत गर्ने मिस्त्री राखिएका छन्। जिप मर्मत गर्न लगिएका तिनै मिस्त्रीले स्थानीयले कठीन बाटो हुँदै झोलुङ्गे पुलबाटै लगेका मोटरसाइकल पनि मर्मत गरिदिने गरेका छन्।
‘बिग्रियो भने त धेरै नै समस्या हुन्छ नि, सुरु सुरुमा सानो सानो कुरा बिग्रिँदा पनि हामीलाई थाहा हुने कुरै भएन। यसैले सबै मिलेर मिस्त्री नै यहाँ ल्यायौँ। सबैजसो स्टेशनमा तराइबाट बोलाइएका मिस्त्रीहरु छन्’ धनबहादुरले सुनाए।
.jpg)
तुइनबाट तारिएका जिप बनाउने मिस्त्रीहरु भने झोलुङ्गे पुलबाटै वारपार गर्छन्। डोल्पाले पछिल्लो पटक पाएको समृद्धिको सुविधा तुइनमा झुण्डिन नपर्नु नै हो। अब उनीहरु सडकसँगै ल्याइएका गाडीहरु तुइनबाट तार्नु नपर्ने समृद्धिको पर्खाइमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।