नयाँ दिल्ली (एजेन्सी)– फेब्रुअरी २१ लाई ‘इन्टरनेसनल मदर्स ल्याङ्वेज डे’ को रुपमा मनाइन्छ। भारतको मातृभाषा हिन्दी हो। तर, भारतमा अंग्रेजी भाषाको प्रभाव छ। सामान्य जीवन मात्र होइन, भारतको चलचित्र क्षेत्र पनि अंग्रेजी भाषाको प्रभावबाट मुक्त छैन। बलिउडमा यस्ता केही कलाकार छन्, जसलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन। हिन्दी बोल्न नआए पनि उनीहरु आफ्नो अभिनयबाट बलिउडमा पकड जमाइरहेका छन्।
यीमध्ये आठ नायिका यस्ता छन्ः
केटरिना कैफ

केटरिना बलिउडको सफल अभिनेत्रीको सूचीमा पर्छिन्। हिन्दी शब्द अप्ठेरो गरी उच्चारण गर्ने उनले बलिउडको तीन वटै खान (आमिर, शाहरुख र सलमान) सँग काम गरिसकेकी छन्। १९८३ मा हङकङमा जन्मिएकी केटरिनाले लन्डनमा छँदा मोडलिङबाट आफूलाई स्थापित गरेकी हुन्। यसपछि उनी बलिउडमा आइन्। उनले १४ वर्षको किशोरी अवस्थामै गहनाको एउटा कम्पनीका लागि मोडलिङ गरेकी थिइन्।
लन्डनमै केटरिनालाई फिल्म निर्माता कैजाद गुस्तादले एउटा फेसन शोमा भेटेका थिए। लगत्तै उनले आफ्नो फिल्म ‘बुम’ (२००३) का लागि साइन गरे। फिल्म फ्लप भयो। तर, उनलाई बलिउडमा स्थापित हुन लामो समय लागेन।
राम्रोसँग हिन्दी बोल्न नआए पनि केटरिनाले बलिउडका हस्तीहरुसँग स्क्रिन गरेर आफ्नो पहिचान बनाएकी छन्। ‘मैने प्यार क्युँ किया’ (२००५), ‘हमको दिवाना कर गए’ (२००६), ‘नमस्ते लन्डन’ (२००७), ‘पार्टनर’ (२००७), ‘वेलकम’ (२००७), ‘राजनीति’ (२०१०), ‘एक था टाइगर’ (२०१२), ‘जब तक हे जान’ (२०१२), ‘धुम–३’ (२०१३), ‘टाइगर जिन्दा हे’ (२०१७) सहित थुप्रै फिल्ममा केटरिना असहज किसिमले हिन्दी बोल्दै गरेको देख्न सकिन्छ। अहिले उनी आमिर खानसँग ‘ठग्स अफ हिन्दुस्तान’ र शाहरुख खानसँग ‘जिरो’ को सुटिङमा व्यस्त छिन्।
ज्याकलिन फर्नान्डिज

२००६ मा मिस श्रीलंका युनिभर्सको उपाधि जितेपछि ज्याकलिन चर्चामा आएकी थिइन्। राजधानी कोलम्बोमा पढाइ पूरा गरेपछि उनी मोडलिङलाई आफ्नो करिअर बनाउने उद्देश्यले भारत आएकी थिइन्। उनले २००९ मा रिलिज ‘अलादीन’ फिल्मबाट करिअरको सुरुवात गरिन्। उनलाई अंग्रेज, फ्रेन्च, स्पेनिस र अरेबिक राम्रोसँग बोल्न आउँछ, तर हिन्दीमा कमजोर छिन्। उनको चर्चा ‘मर्डर–२’ फिल्मको अभिनयपछि भएको थियो। उनले फिल्म ‘हाउसफुल’ का तीन वटै भागका साथै ‘किक’ (२०१४), ‘रोय’ (२०१५), ‘अ फ्लाइङ जट’ (२०१६), ‘जुडुवा २’ (२०१७) मा काम गरिसकेकी छन्।
पछिल्लो समय उनी सलमान खानसँग रेस–३ को सुटिङमा व्यस्त छिन्।
सनी लियोनी

पोर्नस्टारको दुनियाँ छाड्दै बलिउडमा जमेकी सनी लियोनीलाई हिन्दी बोल्न निकै गाह्रो लाग्छ। यद्यपि उनी हिन्दी भाषा सिकिरहेकी छिन्। उनले २०१२ मा ‘जिस्म–२’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यसपछि उनले ‘ज्याकपट’ (२०१३), ‘रागिनी एमएमएस–२’ (२०१४), ‘एक पहेली लीला’ (२०१५), ‘कुछ कुछ लोचा हे’ (२०१५), ‘मस्तीजादे’ (२०१६), ‘बेइमान लभ’ (२०१७) मा काम गरिन्। सनी लियोनीलाई फिल्ममा त्यति ठूलो सफलता हात नलागे पनि उनी आइटम डान्सका कारण निकै चर्चित छिन्।
लिसा हेडन

मोडलिङ क्षेत्रबाट अभिनयमा प्रवेश गरेकी लिसा हेडनको जन्म भारतमा भएको थियो। तर, बाल्यकाल बित्यो, अस्ट्रेलियामा। बलिउडमा उनले २०१० मा रिलिज भएको ‘आयशा’ बाट डेब्यू गरेकी थिइन्। ‘रास्कल’ (२०११), ‘क्वीन’ (२०१४), ‘द सौकिन्स’ (२०१४), ‘हाउसफुल–३’ (२०१६), ‘ऐ दिल हे मुश्किल’ (२०१६) सहित थुप्रै फिल्ममा काम गरिसकेकी हेडन अहिले आफ्नो छोरा हुर्काउने काममा व्यस्त छिन्। उनी टिभी शो ‘इन्डियाज टप मोडल’ को पनि होस्ट हुन्।
एमी ज्याक्सन

बेलायती मोडल एमी ज्याक्सनले दक्षिण भारत र बलिउड फिल्ममा काम गरेकी छिन्। उनी थोरै मात्रामा हिन्दी बोल्छिन्। यति हुँदाहुँदै पनि उनको फ्यान–फलोअरको कुनै कमी छैन। उनले ‘एक दिवाना था’ (२०१२), ‘सिंह इज ब्लिङ’ (२०१५) सँगै दक्षिण भारतको थान्दवम (२०१२), येवदु (२०१४), थंगा मगन (२०१५) मा काम गरिसकेकी छिन्। उनी चाँडै रिलिज हुन लागेको रजनीकान्तको फिल्म ‘२.०’ मा बोल्ड अवतारमा देखा पर्दैछिन्। ‘रोबोट’ को सिक्वेल फिल्म ‘२.०’ मा अक्षय कुमार भिलेनको भूमिकामा छन्।
नगरिस फखरी

अमेरिकी मोडल नरगिस फखरीको हिन्दी निकै खराब छ। फिल्ममा उनी आफ्नो संवाद समेत राम्रोसँग उच्चारण गर्न सक्दिनन्। रुपको भने चर्चा हुने गरेको उनी दर्शकमाझ प्रिय छिन्। उनले २०११ मा फिल्म ‘रकस्टार’ बाट डेब्यू गरेकी थिइन्। फिल्म हिट भए पनि उनको खासै चर्चा भएको थिएन। ‘मद्रास क्याफे’ (२०१३), ‘मै तेरा हिरो’ (२०१४), ‘हाउसफुल ३’ (२०१६), ‘अजहर’ (२०१६), ‘बैजो’ (२०१६) जस्ता फिल्ममा देखा परिसकेकी नरगिस अहिले अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरिरहेकी छिन्।
एली अवराम

स्विडिस ग्रिक मोडल तथा अभिनेत्री एली अवरामलाई पनि हिन्दी आउँदैन। त्यही पनि उनले ‘मिकी भाइरस’ (२०१३), ‘किस किसको प्यार करुँ’ (२०१५), ‘नाम शबाना’ (२०१७) जस्ता फिल्ममा काम गरिसकेकी छिन्। फिल्मबाहेक उनी रियालिटी शो ‘बिग बोस’ (२०१३), ‘कमेडी नाइट्स विद कपिल’ (२०१५) मा पनि देखा परिसकेकी छिन्।
एवलिन शर्मा

जर्मन मोडल र अभिनेत्री एवलिन शर्माले करिअरको सुरुवात २००६ बाट गरेकी थिइन्। उनी ‘लेफ्ट टर्न’ मार्फत बलिउडमा प्रवेश गरेकी हुन्। उनी २०१२ मा आयन मुखर्जीको फिल्म ‘ये जवानी हे दिवानी’ बाट चर्चामा आएकी थिइन्। हिन्दी हल्का बोल्ने एवलिनले ‘यारिया’ (२०१४), ‘मै तेरा हिरो’ (२०१४), ‘कुछ कुछ लोचा हे’ (२०१५), ‘हिन्दी मिडियम’ (२०१७) जस्ता फिल्ममा काम गरिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।