काठमाडौं- देशका उच्च पदस्थहरुले भाइटीका मनाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएर माइटीका मनाएकी छन्।
चपलीहाइटमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले पाण्डेलाई टीका लगाएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति भण्डारीले दुवैलाई टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन्।
भाइहरूले पनि यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपति भण्डारीसँग आशीर्वाद लिएका थिए।
त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजाअर्चना गरेकी थिइन्।
भाइटीका ग्रहण गर्न उपराष्ट्रपति पुगे रोल्पा
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीबाट यसवर्षको भाइटीका ग्रहण गरेका छन्। भाइटीका ग्रहण गर्न उनी रोल्पा पुगेका थिए।

रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन्।
टीका लगाइदिएपछि उपराष्ट्रपति पुनका दिदीबहिनीहरूले उपराष्ट्रपतिलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरेका थिए। उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरेका थिए।
उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका ग्रहण गरेका थिए।
प्रधानमन्त्री ओलीपत्निले पनि ग्रहण गरिन् भाइटीका
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाए।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका ग्रहण गरेका हुन्।
तस्बिर: कृष्ण पौड्याल
टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरेका थिए। उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए।
प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार पनि प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।