एजेन्सी- पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साउदी अरव यात्राका लागि हवाई मार्ग दिन अस्वीकार गरेको छ । यसअघि राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री मोदीलाई हवाई मार्गको अनुमति दिन अस्वीकार गरेको थियो । पाकिस्तानले तेस्रो पटक हवाई मार्ग दिन अस्वीकार गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्ने अनुमति मागेको थियो ।
आइतबार पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले कश्मीरमा भई रहेको मानव अधिकार हननका घटनाका कारण प्रधानमन्त्री मोदीलाई हवाई क्षेत्र प्रयोग गर्ने अनुमित नदिएको जानकारी गराएका छन् ।
द वायरका अनुसार रेडियो पाकिस्तानसँग कुराकानी गर्दै विदेशमन्त्री कुरैशीले भारतीय प्रधानमन्त्री मोदीका लागि हवाई अनुमति नलिएको बताएका हुन् । ‘आज २७ अक्टोबर हो । यो कश्मीरका लागि कालो दिन हो ’ विदेशमन्त्री कुरैशीले भने ‘ हामीले कश्मीरमा भैरहेको मानव अधिकार उल्लंघनलाई मध्यनजर गर्दै भारतको अनुरोध अस्वीकार गरेका हौँ ।’
मोदीको लागि हवाई रुट दिन नसकिने जानकारी पाकिस्तानमा रहेको भारतीय दूतावासलाई जानकारी दिएको पनि उनले बताए । पछिल्लो दुई महिनामा भारतको आग्रहलाई पाकिस्तानले दोस्रो पटक अस्वीकार गरेको हो । यसभन्दा पहिले सेप्टेम्बर २० मा जर्मनी जानका लागि मोदीको जहाजलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोगका लागि भारतले अनुमति मागेको थियो । त्यति बेला पनि कश्मीर विषयमा चिसिएको दुई देशबीचको सम्बन्धका कारण देखाउँदै पाकिस्तानले अनुमति दिएको थिएन ।
पाकिस्तानले अनुमति नदिएपछि सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एअर इण्डिया वान जहाजलाई साउदी अरब जानका लागि लामो दूरी तय गर्नु पर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साउदी अरेबिया पुग्दैछन् ।
उनले साउदी राजकुमार मोहम्मद बिन सलमान र राजा सलमानसँग भेट्दै छन् । मोदीले साउदी अरब पब्लिक इन्भेस्टमेन्ट फन्डले आयोजना गर्ने लगानी सम्मेलनमा सम्बोधन गर्नेछन् । यो लगानी सम्मेलनलाई डाभोस अफ् डेजर्ट्सका नामले पनि चिनिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।