जनकपुर- तिहार लागेसँगै प्रदेश २ को राजधानी जनकपुरधाम सहितका बजारहरुमा किनमेल गर्नेको चहलपहल बढेको छ।
जनकपुरको मुख्य बजार जनकचोक, रामचोक, भानु चोक, शिव चोकसहित प्रदेशका ८ वटै जिल्लाका सहर तथा ग्रामिण क्षेत्रका बजारहरुमा समेत चहलपहल बढेको छ। तिहारका लागि चाहिने सामान खरिद गर्नेदेखि मेला हेर्न आउने स्थानीयहरुको भिडले यतिखेर बजार भरिभराउ भएको हो।
सडकदेखि पसल तथा घरसम्म झकिझकाउ र झिलिमिली पार्ने कामले समेत तीव्रता पाएको छ। बजारमा भाइ मसला, विभिन्न रङ, फूलमाला, कपडा, दुर्गाको फोटो, नरिवलसम्मको व्यापार बढेको छ।
लक्ष्मी पूजाको दिन घरपालुवा जनावरलाई बाँध्ने डोरीसमेत फेरिने हुँदा त्यस्ता डोरीको समेत बिक्रीवितरण बढेको व्यवसायी बताउँछन्। विद्युतीय बत्तीको खपत बढे पनि दिपावलीका लागि माटोका दियोको समेत उत्तिकै बिक्री भइरहेको छ। तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना हुने गर्छ भने त्यस दिन माटोको दियाे शुद्ध हुने भएकाले त्यसमा कपासको ज्योति बाल्ने चलन रहेको छ।
दियोसँगसँगै माटोकै घैलाकाे समेत बिक्री बढेको जनकपुरमा माटोको भाँडा बिक्री गर्दै आएका एक व्यवसायीले बताए। क्षीरेश्वरनाथ नगरपालिकाको नयाँ बजारमा दियो बेच्दै गरेका विष्णु पण्डितले अहिले दियो सयकडा २ सय रुपैयाँका दरले बिक्रीवितरण गर्ने गरेको बताए
सहकर्मी अजय शाहले जनकपुरका विभिन्न बजारमा देखिएको चहलपहलका केही दृश्यहरु कैद गरेका छन्।

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।