नयाँ दिल्ली (एजेन्सी)– भारतीय कांग्रेसका नेता तथा पूर्व कलाकार राज बब्बरकी छोरी जुही लामो समयपछि फिल्ममा फर्किएकी छिन्। तर, उनी पुरुषको तुलनामा महिला कलाकारलाई दिने पारिश्रमिकबाट त्यति खुसी छैनन्। उनले बलिउडमा लैंगिक समानता नभएको बताएकी छिन्।
फिल्म ‘अय्यारी’ बाट पुनः बलिउड फर्किएकी जुहीले एक–दुई वटा अपवादलाई छोडेर महिला तथा पुरुष कलाकारको पारिश्रमिकमा आकाश पातालको फरक भएको बताइन्।
जुहीले भनिन्, ‘नामै लिएर भन्नु पर्दा १–२ जना अभिनेत्रीले हालै पुरुषको तुलनामा बढी पारिश्रमिक लिए। तर, अन्य कलाकारको अवस्था जस्ताको त्यस्तै छ। पारिश्रमिकमा यति धेरै भिन्नता कित?’
‘अय्यारी’ मा मनोज बाजपेयीको श्रीमतीको भूमिका निर्वाह गरेकी जुही पछिल्लो समय २०१३ मा ‘इट्स माइ लाइफ’ मा देखा परेकी थिइन्। पछिल्लो ५ वर्षमा बलिउडमा थुप्रै परिवर्तन भइसकेको बताउँदै उनले बलिउड व्यवसायिक बन्दै गएकोमा खुसी व्यक्त गरिन्।
पहिले फिल्ममा कलाकारको चयन गर्दा अडिशन नहुने अवस्था थियो तर अहिले अडिशन बिना नछानिने अवस्था सृजना भएकोमा खुसी व्यक्त गरिन्। ‘बलिउड तीब्र गतिमा परिवर्तन हुँदैछ। बिना अडिशन अहिले केही काम हुँदैन्। निर्देशक र कलाकार पनि जोखिम मोल्न पछि हट्दैनन्। प्रायः फिल्ममा प्रयोग भइरहेको छ। बलिउडमा नयाँ कलाकारको प्रवेश सहज हुँदै गइरहेको छ,’ उनले भनिन्।
जुहीको आमा नादिरा बब्बर थिएटरको चर्चित कलाकार हुन्। त्यसैले उनी थिएटरमा रमाउने गर्छिन्। ‘एकजुट योङ ट्यालेन्ट थिएटर ग्रुप’ सँग जोडिएकी जुही मेहनतले अगाडि बढ्ने चाहना राख्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।