काठमाडौं- जिल्ला अदालत रौतहटले इँटाभट्टामा पोलेर मान्छे मारेको आरोप लागेका नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ।
न्यायाधीश केशव पाण्डेको इजलासले अनुसन्धानका लागि तेस्रोपटक ८ दिनको म्याद थप गरेको हो। प्रहरीले १० दिन थुनामा राख्न अनुमति माग गरेको भए पनि अदालतले ८ दिनको म्याद थप गरेको हो। यसअघि सुरुमा ७ दिन र त्यसपछि ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो।
संविधानसभाको पहिलो निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पड्किँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि लागेको छ।
प्रहरी हिरासतमा रहेका आलमलाई सर्वोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २६ गते रौतहटकै इदरिस गेटबाट पक्राउ गरेको थियो। भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेस गर्नेगरी म्याद थप गरिएको हो।
अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रोपटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।