काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ।
जिल्ला सुरक्षा समिति, काठमाडौंको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।
राष्ट्रपति कार्यालय रहेको शीतल निवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
सूचना विपरीत कुनै कार्य गरे कानुनअनुसारको कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।