काठमाडौं- बंगलादेशमा क्रिकेट खेलाडीहरुले विभिन्न ११ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेपछि बंगलादेश क्रिकेट बोर्डका निर्देशकहरु आपतकालिन बैठकमा सहभागी भएका छन्।
बंगलादेश क्रिकेट बोर्डले आफ्ना मागहरु पूरा नगरेसम्म कुनै पनि क्रिकेट गतिविधिमा सामेल नहुने भन्दै खेलाडीहरुले सोमबार आन्दोलन सुरु गरेका थिए। बंगलादेशमा राष्ट्रिय क्रिकेट लिगमा सहभागी हुन खेलाडीहरुलाई राजी गराउन बोर्डसँग ४८ घण्टाभन्दा कम समय रहेकाले आपकालीन बैठक बसिरहेका हुन्।
खेलाडीहरुले राखेका मागमा धेरैजसो आर्थिक समस्यासँग सम्बन्धित रहेको र त्यसलाई सार्वजनिक रुपमा नै बोर्डले प्रतिबद्धता गर्नुपर्ने भएकाले केही कठीन देखिएको छ।
बंगलादेश प्रिमियर लिगमा फ्रेन्चाइजका आधारमा खेलाउने प्रक्रिया रद्द गर्ने निर्णय फिर्ता लिनुपर्ने, स्थानीय खेलाडीको तलब विदेशी खेलाडीको समान हुनुपर्ने, राष्ट्रिय खेलाडीको तलब बृद्धि हुुनुपर्ने लगायतका माग खेलाडीले अघि सारेका छन्।
बोर्डले बंगलादेश प्रिमियर लिगमा हरेक टिममा एक लेग स्पिनर अनिवार्य हुनुपर्ने फैसला गरेसँगै देखिएका असन्तुष्टि अहिले बाहिर देखिएको हो। यसले बंगालदेशी क्रिकेटमा देखिएका अन्य बेथितिहरु पनि बाहिरिएका छन्।
खेलाडीहरुको आन्दोलनले नोबेम्बर ३ देखि भारतमा हुने भ्रमण पनि संकटमा परेको छ। बंगलादेश र भारतबीच ३ टी २०, २ टेस्ट खेल हुने तय भएको थियो।
साकिब अल हसन, मोहम्मुदुल्लाह, मुसिफिकर रहिम जस्ता सिनियर खेलाडीहरु सोमबार पत्रकार सम्मेलनमा पनि उपस्थित थिए। उनीहरुसँगै फस्ट क्रिकेट खेल्ने अन्य खेलाडीहरुले पनि बोर्डसँगको असन्तुष्टि व्यक्त गरिरहेका थिए। यसका साथै उनीहरुले खेलाडीको मात्रै नभएर अन्य अफिसियल र अम्पायरको समेत तलब बृद्धिको माग अघि सारेका छन्।
केही दिन अघि मात्रै साकिब अल हसनले डेली स्टारसँगको एक अन्तर्वार्तामा बंगलादेशमा क्रिकेट खेलाडीहरु दमनमा परेको र उनीहरु स्वतन्त्र भएर खेल्न सक्ने वातावरण नरहेको बताएका थिए। उनले नीति बनाउने तहमा राम्रा मान्छेको खाँचो रहेको समेत औँल्याएका थिए।
बंगलादेश क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत निजामुद्दिन चौधरीले सोमबार नै खेलाडीहरुले आफूहरुसमक्ष आधिकारिक रुपमा कुनै धारणा नराखेको बताएका थिए। ‘हामीले खेलाडीहरुले आन्दोलनमा जाने तयारी गरेको भनेर भर्खरै थाहा पायौँ, हामी बोर्डमा यसबारे छलफल गर्छौं र छिटै निचोडमा पुग्र्छौं, अहिलेसम्म खेलाडीहरुले आधिकारिक रुपमा केही भनेका छैनन्’ उनले भनेका छन्।
यस्तै बोर्डका निर्देशक जलाल युनुसले खेलाडीहरुले आफ्नो असन्तुष्टि मिडियामा गएर प्रचार गर्नुभन्दा बोर्डमा आएर भनेको भए समाधान छिटो हुने प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।