काठमाडौं- च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति गालातासरेविरुद्ध हुने खेलमा रियल मड्रिडका महत्वपूर्ण तीन खेलाडी नखेल्ने भएका छन्। लुका मोडरिक, ग्यारेथ बेल र लुकास भासक्वेज चोटका कारण टिमबाहिर रहेका हुन्।
ला लिगा अन्तर्गत मालोर्कासँग १–० ले हारेको खेलमा पनि मोडरिक, बेल र भासक्वेज चोटका कारण बाहिर रहेका थिए। मालोर्कासँगको खेलमा टोनी क्रुस, इडन हाजार्ड र ड्यानी कार्भाजल पनि खेलेका थिएनन्। गालातासरेविरुद्ध उनीहरु खेल्नेछन्।
च्याम्पियन्स लिगको समूह ‘ए’ मा रहेको रियल मड्रिडले अहिलेसम्मको दुई खेलमा एक बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ। यसैले गालातासरेकै मैदानमा हुने खेल मड्रिडका लागि जित्नै पर्ने देखिन्छ।
ला लिगामा कमजोर मानिएको मालोर्कासँगको हारले मड्रिड टिम र प्रशिक्षक जिनेदिने जिदानमाथि दबाब बढेको छ।
ला लिगामा मड्रिडलाई एक अंकले उछिन्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। च्याम्पियन्स लिगमा समूह ‘ए’ मा पिएसजीले ६ अंक, क्लब ब्रगले २ साथै गालातासरे र रियल मड्रिडले एक–एक अंक जोडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।