काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले म्यानमार र इंग्ल्याण्डको ‘सी’ डिभिजनको क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
विश्वकप र एसियन कप छनोटको तयारीका लागि नेपालले आउँदो २१ गते म्यानमारसँग म्यानमारकै मन्डाले सहरमा खेल्नेछ। फिफा वरियतामा म्यानमार १ सय ४५ औँ स्थानमा छ भने नेपाल १ सय ६१ औँ स्थानमा छ।
यस्तै नेपालले २०७७ साल जेठ १२ गते इंग्ल्यान्डको ‘सी’ टिमसँग खेल्ने एन्फाले जनाएको छ। खेल एल्डरसट टाउन फुटबल क्लबमा हुने तय भएको छ।
इंग्ल्यान्डको क्लबसँग खेल्ने व्यवस्था इंग्ल्याण्ड नेशनल लिग सिस्टम र फुटबल अपरेसन डिभिजन प्रमुख लरेन्स जोन्स र बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले मिलाएको एन्फाले जनाएको छ।
विश्वकप फुटबल छनोट अन्तर्र्गत दोस्रो चरणमा नेपालले अवे मैदानमा चार खेल खेलिसकेको छ। चाइनिज ताइपेइलाई हराएको नेपाल बाँकी तीन खेलमा भने पराजित भएको छ। अब नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ। समूहमा नेपाल, अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन्।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपालले मंसिर ३ गते कुवेतसँग, चैत १३ गते चाइनिज ताइपेइसँग र आउँदो वर्ष जेठ २२ गते जोर्डनसँग साथै अस्ट्रेलियासँग चैत १८ गते खेल्नेछ। सबै खेल दशरथ रंगशालामा गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।