काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र एकीकरणलाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ।
प्रधामन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतम तथा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी छन्।
बैठकले करिब ५ महिनाको आन्तरिक गृहकार्यपछि पार्टी एकताको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ। वाम गठबन्धनका शीर्ष नेताहरु एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको सहमतिलाई अनुमोदन गर्दै हस्ताक्षर गर्ने दुवै दलको तयारी छ।
बैठकले प्रमुख दुई नेताले जुटाएको सहमतिलाई लिखित रुपमा उतार्दै र अन्तिम खाका तयार गर्ने जनाइएको छ।
एकीकृत पार्टीको नेतृत्वको विषयमा लामो समय आन्तरिक छलफल गरेका दुवै दल अन्तिम समयमा आएर सैद्धान्तिक विषयमा अल्झिएका थिए।
आइतबार दिउँसो भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा करिब ४ घन्टा छलफल गरेका ओली र दाहालले पार्टी एकताको औपचारिक घोषणा गर्ने सहमति गरेका थिए।
सैद्धान्तिक विषयलाई आगामी महाधिवेशनबाट टुंग्याउन एमाले सहमत भएसँगै एकता प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।