काठमाडौं– भक्तपुरको चाँगुनारायण– ६ मा रहेको ६ रोपनी १५ आना जग्गाको मोहीको लगतकट्टा गर्न जग्गाधनी निवेदन लिएर गत साता भूमिसुधार कार्यालय भक्तपुर पुगे।
करोडौंको जग्गाको मोही लगतकट्टा भएकाले कार्यालयका अधिकृत चुडामणि चापागाईंले भने,‘ठूलै जग्गा रहेछ, मिलाउनुपर्यो नि!'
जग्गाधनीले पैसाको डिल सुरु गरे। चापागाईंले सीधै ५ लाख रुपैयाँ मागे। केही घटाइदिन आग्रह गर्दा उनी ४ लाख रुपैयाँमा काम गरिदिन तयार भए।
सोमबार बिदाको दिन थियो। कतै रेस्टुरेन्टमा बसेर लेनदेन गर्ने कुरा भयो। सोही अनुसार झोला बोकेर चापागाईं सोमबार दिउँसो करिब ४ बजे कोटेश्वरको शिखर खाजाघरमा पुगे। पैसा लिएर झोलामा राखेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्यो।
कानुन अनुसार गर्नुपर्ने कामलाई पनि ५ लाख रुपैयाँ मागेपछि जग्गाधनीले अख्तियारलाई खबर गरेर पैसा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।