काठमाडौं– नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङमा सञ्चालित ईन्भेष्टमेन्ट कम्पनीले आफूलाई प्राप्त कानूनी दायरा विपरित गैरकानूनी तवरले स्थानीयसँग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तिय कारोवार गरिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान टोलीको संयुक्त कार्वाहीमा ८ जना संचालकहरु आइतबार पक्राउ परेका छन्।
उक्त कारबाहीमा आपन ईन्भेष्टमेन्ट प्रालि, ईटहरी सुनसरीबाट ईटहरी उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय भीमप्रसाद चौधरी र सोही उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय श्याम पेशकार थारु पक्राउ परेका छन् । उक्त प्रालिबाट विभिन्न भर्पाई रसिद प्याड, बचत पासबुक १ थान, खाली बचत पासबुक १ हजार २ सय ६८ थान, भरेको ऋण माग फारम ७ थान, व्यावसायिक ऋण लगानी फाईलहरु १ सय ७ थान, कम्पनीको प्रस्तावना तथा नियमावली, बैंक भौचर र बिलहरुको फाईल ८ थान, आम्दानी र खर्चको अभिलेख किताब १ थान, नगदी रसिद प्याड ११ थान, भर्पाई रसिद प्याड ११ थान, दैनिक नगद संकलन फाईल ९ थान र खाली प्याड १ थान, संचालक समितिको माईन्युट रजिष्टर १ थान, कर्मचारी नियुक्तिको करारनामा फाईल ४ थान, तमसूकको खाली फम्र्याट १ थान, सवारी साधनमा लगानी गरेको अभिलेख सम्बन्धी फाईल १ थान, सांग्रिला डेभलपमेन्ट बैंकका चेकबुक ५ थान तथा बैंक स्टेटमेन्ट फाईल १ थान र कम्प्युटर सेट २ थान बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम २ करोड ३९ लाख ४७ हजार ६ सय ६० रुपैयाँ रहेको खुल्न आएको छ ।
यसैगरी हलेसी ईन्भेष्टमेन्ट प्रालि धरान, सुनसरीबाट पक्राउ पर्नेहरुमा सुनसरी धरान–५ बस्ने संखुवासभा बाला गाउँपालिकाका ३१ वर्षीय चन्द्रबहादुर विक र सोही ठााउँ बस्ने २८ वर्षीया अनिता विक रहेका छन् । उक्त प्रालिबाट खाली पासबुक ७ सय ९३ थान, भरिएको पासबुक १ सय ८ थान, ल्यापटप १ थान, विभिन्न रजिष्टर ६ थान, नगदी रसिद ठेली ५ थान, राजिनामा लिखत ४ थान, ब्लूप्रिन्ट नक्सा २ थान लगायतका कागजात बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ६ करोड ९९ लाख ८० हजार ७ सय ३७ रुपैयाँ रहेको खुल्न आएको छ ।




यसैगरी मन्सुन ईन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीबाट सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने ३४ वर्षीय सुनिल गुरागाई पक्राउ परेका छन् । उक्त प्रालिबाट बचत तथा ऋण पास बुक १४ थान, डिपोजिट स्लिप ७६ थान, बचत रजिष्ट्रर १ थान, ऋण रजिष्ट्रर १ थान बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ५० लाख रुपैयाँ रहेको खुल्न आएको छ ।
यसैगरी छिन्ताङ ईन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीबाट सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय डिल्लीप्रसाद आचार्य र सोही ठाउँ बस्ने ३५ वर्षीय प्रकाश आचार्य पक्राउ परेका छन् । उक्त प्रालिबाट बरामद सामानहरुमा बचत पासबुक ५ सय २४ थान, ऋण पासबुक ५ सय २२ थान, कलेक्सन रसिद ९ थान, नगद रसिद १० थान, कर्जा फारम २ थान, भर्पाई प्याड ६ थान र तमसुक प्याड १ थान रहेका छन् । साथै उक्त ईन्भेष्टमेन्ट कम्पनीले स्थानीय जनताबाट बचत संकल्न ऋण प्रवाह गर्ने कार्य भर्खर शुरु गरेको खुल्न आएको छ ।
यसैगरी चौतारी ईन्भेष्टमेन्ट प्रालि विराटनगर, मोरङबाट पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१२ बस्ने २७ वर्षीय राजु साह रहेका छन् । उक्त प्रालिबाट सञ्चालक समितिको वैठकको माइन्युट १ थान, नेपाल बङ्गलादेश बैंकको चेकबुक १ थान, दैनिक रकम बचत फाइल १ थान, तमसुक लोनको फाईल १ थान, बचतकर्ताले भर्ने आबेदन फारम भएको फायल १ थान, कर्जा दिएको सक्कल तमसुक ३ पाना, दृष्टीबन्धक सक्कल कागज १ पाना र धितोको जग्गाधनी प्रमाणपूर्जा २ पाना बरामद भएको छ । साथै स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ८ लाख ६१ हजार २ सय ७४ रुपैयाँ रहेको खुल्न आएको छ ।
उक्त ईन्भेष्टमेन्ट कम्पनीहरुले अवैधानिक रुपमा वचत संकलन तथा ऋण प्रवाह गर्ने गरेको, बढी ब्याज दिने प्रलोभन देखाई बचत संकल्न गरेको र उक्त बचतलाई २४ प्रतिशत भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको, स्थायी रुपमा कार्यालय नराखी झोलाबाटै कार्यालय संचालन गरेको र हालसम्म अवैधानिक रुपमा संकलन गरेको रकम ९ करोड ९७ लाख ७९ हजार ६ सय ७१ देखिएपनि विगो रकम अझै बढन सक्ने देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ सबैलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजले जनाएको छ ।
शेयरको कारोबारका लागि भनेर इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर उनीहरुले त्यसमार्फत अवैध कारोबार गर्दै आएको डिएसपी श्याम ओलीयाले बताए। उनीहरुले ३० प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गर्दै आएका थिए। यसरी झोलामै कार्यालय राखेर उनीहरुले करोडौं कमाइसकेको अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।