काठमाडौं- निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान)को पहिलो कार्यसमिति बैठक आइतबार बस्दैछ। संघको कार्यालय मूलपानीमा बैठक मध्यान्ह १२ बजेपछि सुरु हुने अध्यक्ष चतुरबहादुर चन्दले बताए।
क्यानको बैठकमा कार्यालय सञ्चालन र आगामी दिनमा कामकारबाही कसरी अगाढि बढाउने लगायतका विषयमा छलफल हुने उनको भनाइ छ। 'निर्वाचनपछिको पहिलो बैठक भएकाले धेरै एजेन्डामाथि छलफल हुँदैन, सामान्य बैठक मात्रै हुन्छ,' चन्दले भने।
विश्व क्रिकेटको नियामक निकाय आइसिसीबाट ससर्त निलम्बन फुकुवा भएपछि क्यान कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो। क्यान अध्यक्ष चन्दले बैठकमा आइसिसीलाई धन्यवादसँगै आगामी दिनमा क्यानका गतिविधि कसरी अगाडि बढाउने र कार्यालय सञ्चालन गर्ने लगायतका विषय छलफलको एजेन्डाको रुपमा रहेको जानकारी दिए।
पारसको राजीनामा एजेन्डामा परेन
अध्यक्ष चन्दले हालै मात्र नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्का र भावी कप्तान को हुने भन्नेबारे भने आजको बैठकमा छलफल नहुने स्पष्ट पारे।
कप्तानबाट राजीनामा दिएको पारसबाट आधिकारिक जानकारी नआएकाले राजीनामाबारे छलफल नहुने उनको भनाइ छ।
असोज ११ गते आइसिसीकै रोहबरमा भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि साढे ३ वर्षदेखि क्यानमाथि लागेको निलम्बन ससर्त फुकुवा भएको थियो। त्यसको भोलिपल्ट असोज २८ मा पारसले घोषणा गरेको राजीनामाबारे आधिकारीक रुपमा जानकारी आएपछि यसबारे आगामी बैठकले छलफल गर्ने र निर्णय लिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।