काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीले राज्यलाई सूचना दिने सञ्चारमाध्यमहरुले आफ्नो विशेषता गुमाउन थालेको आरोप लगाएका छन्।
भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले राज्यलाई घचघच्याउने संस्थाले अर्काका बारेमा भ्रामक सूचना सम्प्रेषण गरेर आफ्नो विशेषता आफै गुमाउन थालेको टिप्पणी गरे। नागरिकताको उमेर सच्याएर कीर्ते गरेको समाचार खण्डन गर्दै उनले जनतालाई न्यायको बारेमा भ्रम सिर्जना गरिएको टिप्पणी गरेका हुन्।
न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एकअर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने पराजुलीले बताए।
बाल सुधारगृह सानोठिमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा आफूलाई अहं र ठूलो ठान्नेहरु नै असभ्यताको खेती गरिरहेको आरोप लगाए। प्रधानन्यायाधीश पराजुलीले जो कोही भए पनि सभ्यतातर्फ उन्मुख हुनका लागि अश्लीलता त्याग्नैपर्ने बताए।
'कसैलाई केही लागेको कुरा भन्न छुट होला तर ती सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्छ,' उनले भने।
आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको उनले दाबी गरे। नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हासिल भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।