एजेन्सी- स्पेनिस ला-लिगा क्लब बार्सिलोना र रियल मड्रिडबीचको खेल (एल क्लासिको) स्थगित भएको छ। स्पेनिस पत्रिका 'मार्का'का अनुसार एल क्लासिकोको मिति परिर्वतनबारे आउँदो सोमबारसम्म कुर्नुपर्ने भएको छ।
बार्सिलोना र रियल मड्रिडले स्पेनिस फुटबल फेडेरसनअन्तर्गतको कम्पिटिसन कमिटी लाई एल क्लासिकोको मिति टुंग्याउन भन्दै आग्रह गरेका थिए।
यस सिजनको पहिलो एल क्लासिको बार्सिलोनाको घरेलु मैदान क्याम नाउमा अक्टोबर २६ मा हुने तय भएको थियो। तर, तत्कालका लागि एल क्लासिको स्थगित गरिएको मार्काले उल्लेख गरेको छ।
एल क्लासिको स्थगित हुनुको मुख्य कारण राजनीतिक प्रदर्शन रहेको छ। केही समयअघि स्पेनिस अदालतले क्याटलानका तत्कालीन उपराष्ट्रपति, सभामुखसहित ९ जना नेतालाई १३ वर्ष कैदको फैसला सुनाएको थियो। त्यसयता क्याटलान सहरमा प्रदर्शन भइरहेको छ।
क्याटलान स्पेनबाट अगल हुनुपर्ने भन्दै सन् २०१७ मा जनमत संग्रह गरेको भन्दै उनीहरुलाई जेल सजाय सुनाइएको हो।
एल क्लासिकोकै कारण प्रदर्शन झन उग्र बन्ने भन्दै स्पेनिस फुटबल फेडेरेसनले तत्कालका लागि खेल स्थगित गर्ने निर्णय गरेको हो। स्पेनको घरेलु लिग ला-लिगाले भने यस खेल आउँदो डिसेम्बर ७ मा गर्दा उपयुक्त हुने सल्लाह दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।