काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का नवनियुक्त अध्यक्ष सौरभ गांगुलीले पूर्वकप्तान महेन्द्रसिंह धोनीको भविष्यका बारेमा छलफल हुने बताएका छन्। एक समाचार संस्थासग कुराकानी गर्दै गांगुलीले धोनीका विषयमा छनोटकर्ता र उनीसँग समेत आफूले कुरा गर्ने बताएका छन्।
गांगुलीले पदभार सम्हाले लगत्तै हुने बैठकमा धोनीको भविष्यबारे छलफल हुने बताएका हुन्। यसै वर्ष भएको विश्वकप क्रिकेटमा भारत सेमिफाइलनबाट बाहिरिएपछि धोनीले सन्यास लिने चर्चा चलेको थियो।
लगत्तै दक्षिण अफ्रिका र वेष्ट इन्डिज यात्रामा उनलाई टोलीमा राखिएको थिएन। यो वर्षको पछिल्लो खेलको रुपमा धोनीले बैंग्लोरमा अष्ट्रेलियाविरुद्ध टी-२० खेल खेलेका थिए।
गांगुलीले पहिलो श्रेणीको क्रिकेटमा आफूले ध्यान दिन र खेलाडीको आम्दानी वृद्धि गर्ने सुनिश्चित गर्नसमेत आफूले चाहेको बताएका छन्। अहिले युवा टिम भएकाले उनीहरुप्रति आफ्नो विश्वास र भरोसा रहेको भन्दै उनले आगामी दिनमा धेरै सफलताहरु हात लाग्नेमा विश्वास व्यक्त गरे।
करिब १० महिनासम्म उनी अध्यक्ष पदमा कायम रहने छन्। अर्को वर्ष हुने टी-२० विश्वकपपछि उनले अध्यक्षको पद छोड्नुपर्नेछ। २०२० सेप्टेम्बरमा उनी अध्यक्ष पदबाट हट्नुपर्नेछ।
गांगुली क्रिकेट एसोसियसन अफ बंगालको पनि अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।