काठमाडौं- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अहिलेसम्मकै महँगो पारिश्रमिकमा अनुबन्ध भएका छन्।
विश्वका विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका युवा क्रिकेटर लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्नका लागि अनुबन्ध भएका हुन्।
इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सन्दीपले बर्मिङ्घम फिनिक्सबाट खेल्ने भएका हुन्। गएराति सम्पन्न ड्राफ्टबाट सन्दीपले अहिलेसम्मकै महँगो मूल्य एक लाख पाउन्ड अर्थात् एक करोड ४६ लाख रुपैयाँ पाउने भएका हुन्। कुनै पनि विदेशी लिगमा यति ठूलो रकममा अनुबन्ध हुने लामिछाने पहिलो नेपाली क्रिकेटर हुन्।
एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। प्रतियोगिता २०२० को जुलाई १७ देखि अगस्टसम्म चल्नेछ।
टि-टेनमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध
त्यस्तै, लामिछाने गएराति नै अर्को लिग खेल्नका लागि अनुबन्ध भएका छन्। सन्दीप युएईमा हुने टि-टेनमा पनि अनुबन्ध भएका हुन्।
कर्नाटक टस्कर्समा अनुबन्धित भएका उनको पारिश्रमिक ४५ हजार अमेरिकी डलर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।