काठमाडौं- इन्जुरी समयमा गरेको बराबरी गोलको मद्दतमा स्पेन सन् २०२० मा हुने युरोकपमा छनोट भएको छ।
गएराति स्विडेनविरुद्ध १-१ गोलको बराबरी खेल्दै ३ पटकको युरोकप च्याम्पियन स्पेन आगामी संस्करणका लागि छनोट भएको हो।
छनोटका लागि मात्र एक अंक आवश्यक रहेको स्पेनका लागि खेल बराबरीमा ल्याउन इन्जुरी समयको पनि दोस्रो मिनेटसम्म कुर्नु परेको हो। स्पेनका लागि रोड्रिगो नायक सावित भए। योसँगै स्पेनको जर्सीमा उनले गरेको गोल संख्या ८ पुगेको छ।
यसअघि खेलको ५०औं मिनेटमा मार्कस बर्गले क्लोज रेन्जबाट हानेको हेड बल गोलमा परिणत भएपछि स्विडेनले खेलमा अग्रता लिएको थियो। तर, त्यसमा जोगाउन नसक्दा अन्तिम समयमा स्विडेन गोल खान पुगेको हो।
बराबरीसँगै स्पेन आगामी वर्ष हुने युरोकपमा छानिने छैटौं टोली बनेको छ। यसअघि बेल्जियम, इटाली, रसिया, पोल्यान्ड र युक्रेनले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
यसैबीच मंगलबार नै भएका अन्य खेलहरुमा फिनल्यान्ड, ग्रिस, इटाली, जर्जिया, स्विजरल्यान्ड, फरोइ आइल्यान्ड र इजरायल विजयी भए। रोमानिया र नर्वेले भने १-१ गोलको बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।