काठमाडौं– नेपाली राष्ट्रिय टोलीको कप्तान पारस खड्काले आफूले टिम कप्तानबाट राजीनामा दिएपनि ब्याट भने नछाडेको बताएका छन्। खेल नै छोडेको नभएको तर केही समयका लागि भने ब्रेक भने लिने उनको भनाइ छ।
कप्तानीबाट राजीनामा दिएसँगै उनले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो अभिव्यक्ति दिएका हुन्।
आफूले कुनै असन्तुष्टिका कारण राजीनामा नदिएको स्पष्ट पार्दै पारसले खुसीसाथ कप्तानीबाट राजिनामा दिएको समेत बताएका छन्। राजीनामा दिएपनि टिममा बसेर अझै क्रिकेट खेल्दै राष्ट्रको हितमा सक्दो योग्दान गर्ने उनको भनाइ थियो।
‘मैले जे निर्णय गरेँ, त्यो ठिक गरेको छु,’ उनले भने, ‘यो निर्णयबाट विचलित हुँदिनँ। अब टिमको कप्तानीमा फर्कन पनि सक्दिनँ।’
आफूले हतारमा अप्रत्यासित रुपमा यो निर्णण नलिएको समेत बताएका छन्। सन् २००९ देखि नेपाली टोलीको कप्तान रहेका खड्काले मंगलबार पद छोडेको घोषणा गरेका हुन्।
‘मैले राष्ट्रिय टिमबाट खेल्न पाउँला भन्ने सोचेकै थिइनँ। कप्तानी नै गर्ने अवसर पाएँ,' पत्रकार सम्मेलनमा भने।
आफूले धेरै पहिलो देखि क्यानको निलम्बन फुकुवाको पर्खाई रहेको र त्यो पूरा भएसँगै राजीनामा दिएको उनले बताए।
आफ्नै कप्तानीका अवधिमा राष्ट्रिय टोलीले एकदिवसीय मान्यता पाउनु सबैभन्दा गर्वको कुरा रहेको उनको भनाइ थियो।
पत्रकारको प्रश्नको जवाफ दिँदै उनले कम्तीमा एक वर्ष नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नु पर्ने धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।