काठमाडौं- गारेथ बेलले बराबरी गोल गरेपछि वेल्सले सन् २०२० मा आयोजना हुने युरोकपमा छानिने सम्भावना जीवितै राखेको छ।
कार्डिफ रंगशालामा भएको खेलमा गत वर्ष सम्पन्न विश्वकपको फाइनलिस्ट टोली क्रोयसियालाई वेल्सले १-१ को बराबरीमा रोकेको हो। क्रोयसियाका निकोला भ्लासिकले खेल सुरु भएको नवौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको अतिरिक्त समयमा रियल मड्रिडका फर्वाडसमेत रहेका बेलले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन।
वेल्सले कुनै पनि युरोपेली प्रतियोगितामा घरेलु मैदानमा पछिल्लो ८ वर्षदेखि हारेको छैन। क्रोयसियासँग बराबरी खेल्दै वेल्सले अपराजित खेलको संख्या १० पुर्याएको छ।
योसँगै वेल्स युरोकपमा छनोट हुने सम्भावना कायमै छ। युरोकप छनोटको समूह 'ई' मा रहेको वेल्सले बाँकी रहेका दुवै खेलमा जीत हात पारे उ हेड टू हेडका आधारमा युरोकपमा छनोट हुनसक्नेछ। तर, यसका लागि उ अन्य टोलीको खेलमा समेत निर्भर रहनुपर्नेछ।

क्रोयसिया ७ खेलमा १४ अंक जोड्दै यसअघि नै छनोट युरोकपमा भइसकेको छ। चौथो स्थानमा रहेको ८ अंक जोडेको वेल्सभन्दा माथि हंगेरी र स्लोभाकिया छन्। हंगेरीको १२ तथा स्लोभाकियाको १० अंक छ।
वेल्सले हंगेरी र अजरबैजानसँग जित हात पार्नुपर्नेछ र स्लोभाकियाले समेत आफ्नो खेल हार्नुपर्नेछ।
यसैबीच गएराति नै भएका अन्य खेलहरुमा बेल्जियम, नेदरल्यान्ड्स, हंगेरी, रसिया, स्कटल्यान्ड, जर्मनी, पोल्यान्ड र अष्ट्रिया विजयी भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।