काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधि भिडन्तमा नेपालका कप्तान पारस खड्काले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन्। पारसले ३५ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। पारस ५९ बलमा २ चौका र ३ छक्काको मद्दतमा ६३ रन बनाएर खेलिरहेका छन्।
पारसलाई शरद भेषावकरले साथ दिइरहेका छन्। उनले २८ रन बनाएर खेलिरहेका छन्।
२ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती ३ विकेट गुमाइसकेको छ। नेपालले ३५ ओभरमा ३ विकेटको क्षतिमा १ सय ६१ रन जोडेको छ।
यसअघि नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३ रन बनाएर आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि २५ बल खेलेर १ चौका प्रहार गरे। दिलीपले २९ बल खेलेर २ चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरी ३५ रन बनाएर आउट भए। इमरान हैदरबाट बोल्ड हुनुअघि उनले ६६ बल खेल्दा २ छक्का प्रहार गरे।
त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो।
युएईका लागि ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले शतक प्रहार गरे। उनले सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि १ सय १४ रनको सानदार इनिङ खेले। जारी प्रतियोगितामा एकै इनिङमा बढी रन प्रहार गरेका उनले १ सय २३ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
राम्रो सुरुवात गरेको युएईले पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको थियो। युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे।
नेपालले दोस्रो विकेटको रुपमा गुलाम सब्बारलाई १८ रनमा रनआउट गरेको हो। सन्दीप लामिछानेले उनलाई रनआउट गराएका थिए।
यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए । उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।