काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका जारी खेलमा ब्याटिङ गरिरहेको युएई विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालले दोस्रो विकेटको रुपमा गुलाम सब्बारलाई १८ रनमा रनआउट गरेको हो। सन्दीप लामिछानेले उनलाई रनआउट गराएका थिए।
यसअघि नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। बसन्तले युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा खेलिरहदा करण केसीबाट क्याच गराए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे। अर्का ओपनर असफक अहमेदले अर्धशतक प्रहार गरिसकेका छन्। उनलाई रहिम साहजादले साथ दिइरहेका छन्।
युएईले ३६ ओभरमा २ विकेटको क्षतिमा १ सय ७५ रन जोडिसकेको छ।
तेस्रो स्थानका लागि नामिबिया र क्यानडाबीच तथा पाँचौ स्थानका लागि ओमान र केन्या खेलिरहेका छन्।
नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो। ३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो। कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।