काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ। डिभिजन–२ मा शीर्ष २ मा परेसँगै नेपाल डिभिजन–१ मा उक्लन समेत सफल भयो।
निर्णायक तथा रोमाञ्चक खेलमा नेपालले क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै सनसनीपूर्ण जित हात पारेको हो।
नेपाललाई निर्णायक खेलमा रोमाञ्चक जित दिलाउन दशौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले नायकीय प्रदर्शन गरे। उनले अन्तिम ओभरमा ८ रन चाहिएको स्थितिमा पाँचौ बलमा छक्का प्रहार गरेका थिए। छैटौं बल वाइड हुँद रन बराबरी भएको थियो। अन्तिम बलमा करणले १ रन लिँदै नेपाललाई अविश्वसनीय जित दिलाएका हुन्।
त्यसअघि ४९ ओभरको खेल टर्निङ प्वाइन्ट बन्यो। ४९ ओभरमा करणले १ चौका र १ छक्का प्रहार गरे। सो ओभरमा नेपालले १३ रन जोडेको थियो। नेपालको जितमा हिरो साबित भएका करणले नटआउट ४२ रन जोडे। उनले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे।
नेपालको जितमा एघारौं नम्बरका ब्याट्सम्यान सन्दीप लामिछानेको पनि भूमिका महत्वपूर्ण रह्यो। उनले १८ बल खेलेर नआउट ५ रन जोडे। सन्दीप ४३ ओभरमा मैदान छिर्दा नेपाललाई जितको लागि ५१ रनको आवश्यकता थियो। तर हातमा मात्र एक विकेट बाँकी थियो। यो अवस्थामा सन्दीप र करणले नटआउट ५१ रनकै साझेदारी गरे त्यो पनि अन्तिम बलमा।
हेर्नुहोस् भिडियो :
भिडियो सौजन्य : आइसिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।