काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा क्यनाडालाई १ विकेटले पराजित गर्दै एकदिवसीय विश्वकप छनोट र डिभिजन–१ मा बढुवा भएपछि नेपाली क्रिकेट टिमको सर्वत्र प्रशंसा भइरहेको छ।
निर्णायक खेलमा नेपालले सनसनीपूर्ण जित निकाल्दा दशौं नम्बरका ब्याट्सम्यान करण केसीले नटआउट ४२ रन जोडेका थिए।
खेलपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले सबैलाई बधाई भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, 'यो नेपाली क्रिकेटका लागि ठूलो दिन हो, सबै समर्थकहरुलाई धन्यवाद। नेपाली क्रिकेटलाई माया गरिरहनु होला।'
नेपालका कप्तान पारस खड्काले नेपाली क्रिकेटमा लागेका सबैलाई बधाइ दिएका छन्। उनले ट्विट गर्दै लेखेका छन् 'इमान्दारीता, कडा मिहिनेत र लगनशीलता पछि चमत्कार भएको छ। सबै फ्यानलाई धन्यवाद।'
पारसले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई दिएको अन्तर्वार्तामा करण केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि गरेको ५१ रनको साझेदारीबारे बोल्न आफूसँग शब्द नै नरहेको बताएका छन्। उनले क्यानडाले लाखौं पटक खेल जितेको र लाख मध्ये एक पटक नेपालको पक्षमा खेल रहेको बताए। त्यहि लाखको एक नेपालका लागि पर्याप्त हुँदा जित हात पारेको पारसको भनाइ छ। घरेलु क्रिकेट समर्थक प्रेरणाको श्रोत भएको समेत बताएका उनले आगामी महिना जिम्बावेमा सकारात्मक सोचले खेल्ने बताए।
यता नेपालको जितमा हिरो साबित भएका करण केसीले खेलको रोमाञ्चकता शब्दमा ब्याख्या गर्न नकसिके बताएका छन्। उनले ट्विटरमा लेखेका छन्,'खेलमा कति रोमाञ्चक भए त्यो व्यक्त गर्न सक्दिन। अब हाम्रो सपना पूरा भएको छ। समर्थन र साथ दिने सबैलाई धन्यवाद । यो कठिन यात्रा पक्कै दियो तर, हामी सबै मिलेर जित निकाल्न सफल भयौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।