काठमाडौं- सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नियमित कामको अभिनय गरिरहेकी थिइन्। काम त नियमित थियो तर अगाडि क्यामेरा देखेपछि उनी असहज हुन्थिन्। स्वाभाविक दृश्यांकन हुन नसकेपछि भिडियो निर्देशक प्रकाश भट्ट ‘रिटेक’लिन्थे। जमिनदारको घरमा कमलरी बस्दा दुःखको चरम रुप देखेकी उनी भन्दै थिइन्, 'अभिनय गर्न गाह्रो हुने रहेछ!'
जीवनको त्यो कष्टकर क्षण र अहिले प्राप्त उपलब्धिलाई दाँज्दा उनी भावुक हुन्छिन्। त्यही भावुकतामा अतित स्मरण गर्दै उनले यस्तो गीत लेखिन्-
कोही बाँच्छन् काँडाबीच कोहीको जीवन फूल भयो
आँसु पिई बाँच्नलाई जन्म लिनु भुल भयो
यो उनलाई कमलरी बस्दै गर्दा महसुस भएको थियो। उनले मनको कुनै कुनामा जीवनप्रतिको चरम निराशाका भावना थन्क्याएर राखेकी थिइन्। अहिले गीतका रुपमा प्रस्तुत गरिन्। त्यो बेला आफूसँगैका जमिनदारका सन्तान र आफूलाई उनी यसरी तुलना गर्थिन्-
दुःखका ती पहरामा बजारिँदै घाइते हुँदा
ताली बजाई हाँस्थ्यौ तिमी अँध्यारोमा म रुँदा
सांसद चौधरीको बाल्यवस्थालाई भिडियोमा उतारिएको छ। त्यो भिडियोमा एक जना सानी नानी जुठा भाँडाको रासमा छिन्। उनीजत्रै दुई बालिका घरको आँगनमा पढिरहेका छन् र उनलाई हेर्दै हाँसिरहेका छन्। त्यो दृश्य देखेपछि चौधरीले हामीतिर हेर्दै भनिन्, ‘म कमलरी बस्दा यो भन्दा सानी थिएँ। ८ वर्षकी मात्रै।’
त्यो लाऊँखाऊँ भन्ने उमेरमा रहर अनगन्ती हुन्छन्। तीमध्ये जमिनदारका छोराछोरी जस्तै स्कुल पढ्ने पनि। आफूलाई पिँजडामा थुनिएकी सुँगाजस्तै महसुस हुन्थ्यो उनलाई। पढ्ने त्यो रहर अहिले पूरा गरिहेकी छिन्। त्यसैले त्यो समय सम्झेर उनले लेखिन्-
आँखा थिए हेर्ने तर बाहिरी संसार देख्न पाइनँ
अनगिन्ती इच्छा थिए मनको रहर मेट्न पाइनँ
जीवनको संघर्ष कमलरी हुँदा मात्रै होइन, घरबार गरेपछि पनि छुटेन। विवाहपछि दुःख बाँडिने ठानेकी थिइन्। त्यसैले आम नेपाली युवतीले विवाह गर्ने उमेरभन्दा धेरै कम १४ वर्षमै विवाह गरिन्। जीवनसँग संघर्ष गरिरहेकै बेला उनलाई क्यान्सरले दपेट्यो। क्यान्सरसँग संघर्ष गरिरहेकै बेला जीवनभर दुःखसुख बाँड्ने बाचा गरेका श्रीमान् टाढिए। जीवनको त्यो पाटोलाई पनि उनले गीतमा उतारिन्-
निर्दयी रैछौ छोडेर गयौ
खाएको कसम तोडेर गयौ
मायाका पर्खाल फोडेर
हे मेरो प्रिय बिरानो भयौ
सन्तोष श्रेष्ठले सुहाउँदो संगीत गरेका छन् भने वियोगका गीतलाई न्याय गर्ने गायिका अञ्जु पन्तको स्वरले गीतलाई कर्णप्रिय बनाइदिएको छ।
लेखनमा रुचि भएको उनी कविता कोरिरहन्थिन्। उनले आफ्नो जीवनमाथि पुस्तक पनि लेखिसकेकी छिन्। कविता लेखनमा रुचि थियो। उनका प्राय: कविता उनकै जीवनसँग सम्बन्धित हुन्छन्।
आफ्नै जीवनका कुरा तर सन्देशमूलक बनाएर धेरैलाई सुनाउनका लागि उनले गीत लेखिन्। भन्छिन्, ‘बालशोषण भएको कुराहरु र ती बालकहरुको इच्छा र रहरहरुका बारेमा मेरै कथामार्फत भन्ने खोजेकी हुँ।’
गीतसंगीतमा खासै रुचि नभए पनि सबैलाई मन पर्ने विधा भएकाले उनले यसलाई रोजेकी हुन्। आफू कमलरी बसेकै घरमा गीतको भिडियो छायांकन गरिएको छ। यसले गीतलाई जीवन्त बनाएको उनी बताउँछिन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।