बुटवल- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरालाई पदबाट अलग भएर बस्न आग्रह गरेका छन्। नेता थापाले महरामाथि लागेको आरोपको निष्पक्ष छानबिनको माग गर्दै छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।
रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा नेता थापाले सभामुख महराको दोषी या निर्दोषबारे प्रस्ट हुन निष्पक्ष छानबिनको आवश्यकता रहेको उल्लेख गरे।
‘सभामुखजस्तो गरिमा बोकेको पद सम्हालेको व्यक्तिमाथि जुन आरोप लागेको छ, यसले संसदकै गरिमामाथि नै प्रश्न उठाएको छ’, थापाले भने, ‘यो आरोप साँचो हो या गलत भन्ने प्रस्ट पार्न निष्पक्ष छानबिन हुन जरुरी छ, प्रहरी सत्ता र शक्तिबाट प्रभावित नहोस्, कानुनअनुसार गर्नुपर्छ।’
उनले आरोप गलत पुष्टि भएमा आरोप लगाउने व्यक्तिमाथि कानुनी उपचार खोज्नुपर्ने बताए। यो घटना घट्यो भन्ने सुनेपछि म स्तब्ध भएको छु,' उनले भने, 'यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्रै हुँदैन। सत्यतथ्य छानबिन हुन जरुरी छ।'
नेता थापाले सभामुख महरामाथि लागेको आरोपमाथि पनि आम नागरिक सरह छानबिन हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले छानबिनका लागि सहयोग गर्नुपर्ने बताए।
उनले फरक प्रसंगमा नेता थापाले सरकारसँग शक्ति भए पनि नैतिकता गुमिसकेको बताए। आफ्नै गतिविधिले सरकार नैतिक रूपमा कमजोर भएको भन्दै उनले पार्टी र सरकारमै रहेका व्यक्तिले सरकारको विरोध गर्नेहरूमाथि आक्रमण गर्न उक्साएको दाबी गरे।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आइतबार राति यौन दुर्व्यवहार गरेको संसद् सचिवालयकै एक महिला कर्मचारीले आरोप लगाएकी छन्। सभामुख महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको उनको आरोप छ।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।