काठमाडौं– काठमाडौं महानगरपालिका–६ महाँकाल सरस्वतीनगरमा किराना तथा खाजा पसल सञ्चालन गर्दै आएकी कमला भन्ने हरु केसीलाई बियरमा ट्रामाडोल नामक औषधि खुवाएर हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ। केसीको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
कपिलवस्तुको वाणगंगा नगरपालिका-२ बैजलपुरकी ५५ वर्षीया केसी सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी थिइन्।
गत भदौ ३१ गते आफ्नै खाजा पसलमा केसी मृत भेटिएकी थिइन्।
कपडाले हातखुट्टा बाँधेर मुखमा समेत कपडा कोचर कुटपिट गरी हत्या गरिएको अवस्थामा केसीको शव भेटिएको थियो।
लगत्तै अनुसन्धानमा महानगरीय प्रहरी परिसर खटिएको थियो। परिसरले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढंगाको मनु गाउँपालिका–७ घर भई काठमाडौं टोखा बस्दै आएका ३१ वर्षीय आले भन्ने पासाङ तामाङ, मकवानपुरको छतिवन गाउँपालिका–४ घर भई कपन बस्दै आएका २७ वर्षीय सोमलाल थिङ, रौतहटको चनद्रनिगाहापुर घर भई भृकुटीचोक बस्ने १९ वर्षीय पासाङ भन्ने सविना तामाङ, ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका–९ घर भई काठमाडौं नारायणटार बस्ने ३१ वर्षीय पासाङ शेर्पा र ओखलढुंगाको चमदेवी गाउँपालिका–४ घर भई बुणनिलकण्ठ बस्ने ३२ वर्षीय रामकृष्ण भन्ने बुद्धिमान कार्की छन्।
उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले केसीको हत्या गरी सुनका गहना तथा नगद लुटपाट गरेका थिए।
प्रहरीले हातखुट्टा बाँध्न तथा मुखमा कोच्न प्रयोग भएको कपडा, मोबाइल, सुनको औठी बरामद गरेको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका राजकुमार थापा मगर भने अझै फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।