कोलोम्बो- श्रीलङ्कामा शनिबार भएको स्थानीय निर्वाचनमा सत्ताधारी गठबन्धनलाई धक्का लागेको निर्वाचन परिणामले देखाएको छ।
निर्वाचनको परिणाम आउने क्रम जारी रहेको भए पनि सोमबार दिउसोसम्मको नतिजामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षको दलले सत्ताधारी गठबन्धनलाई निकै पछि पार्ने देखिएको अल जजिराले जनाएको छ।
मध्यान्नसम्म राजापाक्षको समूह, श्रीलङ्का पोडुजना पेरामुना(एसएलपीपी)ले ४४.०५ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। प्रधानमन्त्री रनिल विक्रमासिङ्गेको युनाइटेड नेशनल पार्टीले जम्मा ३१.६५ प्रतिशत प्राप्त गरेको छ।
पछिल्लो परिणाम अनुसार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी(एसएलएफपी)ले निकै कम ९.५२ प्रतिशत मत ल्याएको छ।
राजापाक्षको दल (एसएलपीपी)ले लामो समय द्वन्द्वले तहसनहस बनेको उत्तरी र पूर्वी श्रीलङ्का बाहेकका प्रायः सबै क्षेत्रमा राम्रो नतिजा ल्याएको छ।
सत्ताधारी(एसएलएफपी) र युएनपीबीच सन् २०१५ मा गठन भएको गठबन्धन सत्तामा आएपछि भएको पहिलो निर्वाचन हो। यसले यहाँ सत्ता गठबन्धनप्रति विश्वास घट्दै गएको देखिएको छ।
निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका निर्वाचन आयोगले जनाएको थियो।
प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा हेरिएको थियो। तर जनताले यसलाई नरुचाएको देखिएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।