काठमाडौं– शुक्रबार दिउँसो ४ बजे।
राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तल्ला।
आइसियू वार्डको बेड नं ५२६ मा ३ महिनादेखि उपचाररत छन्, झापाका ओमनाथ ढकाल।
'बाबा एता हेर्नुस् न, एता हेर्नुस् त बाबा,' ओमनाथकी श्रीमती उमा ढकाल भन्दै थिइन्।
ओमनाथले दुवै आँखा खोले र टुलुटुलु हेरिरहे।
'भनेको कुरा सुन्नुहुन्छ। अनि रेस्पोन्स पनि गर्न थाल्नुभएको छ,' उमाले उनको स्वास्थ्य प्रतिबारे सुनाइन्।
दक्षिण कोरियाको बुसान युनिभर्सिटी अस्पतालको कोमामा ७ महिना उपचारपछि नेपाल झिकाइएका ओमनाथ सुरुको अवस्थामा बिना हलचल सुकेको काठजस्तै ढलिरहन्थे। कहिलेकाँही आँखा हेरे पनि कुनै प्रतिक्रिया देखाउँदैन थिए।
‘हातले देखाउनुस् त बाबा। कहाँ दुखेको छ भन्नुस् त। दुखेको छ हो, गाह्रो भएको छ?’ उमाले ओमनाथलाई प्रश्न सोधिरहेकी थिइन्।
ओमनाथ टुलुटुलु हेरिरहेका मात्रै थिए। शरीरभरि जेलिएका उपकरणका तारहरु देब्रे हातले तान्ने प्रयास गरिरहेका थिए। 'तार त उहाँले तानेर मिल्काउनुहुन्छ, दाहिने हात त पूरै चल्छ नि,’ उमा मुस्काइन्।
ओमनाथ बेलाबेलामा खोकिरहेका थिए। अनुहारमा चिटचिट पसिना आइरहेको थियो। उमाले पसिना पुछिदिइन्। फेरि निधार छामिन्।
.jpg)
‘हिजोअस्ति त ऐया दुख्यो भनेर बोल्नुहुन्थ्यो। आज अलि धेरै गाह्रो भएको छ,’ उनी आफ्नै सुरमा बोलिरहेकी थिइन्, 'बिस्तारै तंग्रिन लाग्नुभएको थियो, ज्वरोले फेरि सतायो। मुखैबाट खाना खान थाल्नुभएको थियो। म आफै केरा, स्याउ मिचेर खुवाइदिन्थेँ। अहिले खुवाउन डर लागिरहेको छ, अड्किने हो कि!’
उनी घरीघरी छटपटाइरहेकी थिइन्। एकछिनपछि पानीमा औषधिका चक्कीहरु घोलिन् र पिलाइदिइन्। ओमनाथले घुटुक्क निले। त्यसपछि भने लगातार उनी खोकिरहे।
खकार उछिट्टिएर ओमनाथको शरीररि लागेको थियो। सफा गरिसकेर उमाले फेरि पानीको बाफ दिन थालिन्।
OOO
कोरियाबाट ओमनाथलाई ट्रमा सेन्टर ल्याएदेखि नै उमाको दैनिकी एउटै तालिकामा चलिरहेको छ। दिनभर खुट्टा मुसार्छिन्, औषधि र खानेकुरा खुवाउँछिन्। राति ओमनाथ सुतिरहेको बेडमुनि कपडा ओछ्याएर कोल्टे फेर्छिन्।
निदाउने प्रयास त गर्छिन् तर अहँ ओमनाथको त्यो अवस्थाले ढुक्कले निदाउन दिँदैन उनलाई। बेलुका पनि घरीघरी उठेर बेडमा हेर्छिन् र पल्टिन्छिन्।
ट्रमा सेन्टरमा उमाको दैनिकी ३ महिनादेखि लगभग यसैगरी बितिरहेको छ। श्रीमान्को स्वास्थ्य अवस्थाले उमाको शरीर पनि दुब्लाएर सुकेको दाउरा जस्तै भएको छ।
एकातिर श्रीमान्को उपचार अर्कातिर झापामा बाटो कुरिरहेका छोराछोरी।
‘छोराछोरी पनि आए, बाबालाई हेरेर गए,' उमाका आँखा भरिन्छन्, ओठ काप्छन् र अर्कोतिर फर्किँदै भन्छिन्, 'बाबालाई कस्तो छ, ममी कहिले आउने भनेर फोनमा सोधिरहन्छन्।'
आँसुलाई आँखाभित्रै दबाउने कोसिस गर्छिन् र फेरि बोल्छिन्, ‘अलि अगाडि उहाँलाई भेट्न आमाबुबा पनि आउनुभएको थियो।’
ओमनाथ र उमाका २ जना छोराछोरी छन्। झापामै रहेका आमाबुबासँग ओमनाथका भाइबुहारी पनि बस्छन्। उनीहरु पनि ओमनाथलाई भेट्न आएका थिए।
कोरियाको अस्पतालमा लामो समयसम्म सुतिरहेकाले ओमनाथको शरीरको पछाडीपट्टिको भागमा घाउ (बेड सोर) भएको थियो। स्वास्थ्य अवस्था पहिलेभन्दा सुधार हुँदै गएकाले उमाको मुहारमा खुसी टुसाउन थालिसकेको छ।
‘त्यो घाउ पनि निकै ठिक भएको छ, अब त सानो घाउ मात्रै बाँकी छ,’ उमा भन्छिन्, 'अब उहाँको ब्रेन कभर पनि राख्न पाए, धेरै ठिक हुनुहुन्थ्यो कि।’
वबरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाले पनि पहिलेभन्दा निकै सुधार भएको बताए। ‘उहाँको अवस्था सोधारोन्मुख छ, हामीले ट्रमाबाट उहाँलाई बिस्तारै पुर्नस्थापनका केन्द्रमा लैजाँदा पनि हुन्छ भनिसकेका छौं,' उनले भने, 'तर उहाँकी श्रीमती र परिवार केन्द्रमा लगेर उपचार गराउन डराइरहनुभएको छ।’
अब पुनर्स्थापना केन्द्रमै लगेर फिजियो थेरापी गराए अवस्था सुधार हुँदै जाने डा झा बताउँछन्। 'थप सुधार भएपछि मात्रै उहाँको ब्रेन कभर राख्दा राम्रो हुने भएकाले सोही अनुसार योजना बनाएका छौं। सुधार भएपछि मात्रै अप्रेसन गर्नु राम्रो हो।'
OOO
रोजगारीका लागि कोरिया पुगेका ओमनाथ २०७५ मंसिर २२ गते अचानक अचेत भएर ढलेको खबर उमालाई आएको थियो।
अघिल्लो दिनसम्म उमासँग फोनमा कुरा गरेका ओमनाथ अचानक बेहोस भएर ढलेको खबरले परिवारलाई विक्षिप्त बनाएको थियो। आफन्त आएपछि मात्रै अस्पतालले उपचार सुरु गर्ने भनिएपछि उमा र उनका भाइ भिजिट भिसामा कोरिया पुगेका थिए।
कोरियास्थित बुसान युनिभर्सिटी अस्पतालमा ७ महिना राखेर उपचार गराउँदा पनि ओमनाथको स्वास्थ्यमा कुनै पनि सुधार नदेखिएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा ओमनाथलाई नेपाल ल्याइएको हो।
.jpg)
वरिष्ठ न्यूरो सर्जन डा झाका अनुसार ओमनाथको ब्रेनको बाहिरी भागको नसा फुटेर रगत जमेको छ। यस्तो समस्या धेरै कारणबाट हुन्छ। ओमनाथलाई भने प्यानोरिजका कारण यस्तो भएको उनले बताए।
यस्तो अवस्थाका बिरामी सामान्य अवस्थामा आउन निकै समय लाग्न सक्ने उनी बताउँछन्। ‘शतप्रतिशत नर्मल अवस्थामा आउन सक्छन् भन्न सकिँदैन, शरीरमा कुनै न कुनै समस्या रहन्छ,’ डा झाले भने। उनका अनुसार यस्तो समस्या भएका ५० देखि ६० प्रतिशत बिरामीको अवस्था सुधार पनि भएको छ।
‘ब्रेननको कभर राख्न पाए उहाँलाई अलि ठिक हुन्थ्यो कि,' उमालाई आशा छ, 'उहाँ ह्विलचियरमै भए पनि हिँड्न सक्ने भए कति खुसी हुने थिएँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।