काठमाडौं– निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले सोमबार प्रक्रिया पुर्याएर निवेदन दिन आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आग्रह गरेको हो ।
फागुन २१ मा हुने निर्वाचन प्रयोजनका लागि आयोगले पुस १३ र १४ गते बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई समय दिएको थियो ।
‘राजनीतिक दलहरूबाट मिति २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम निम्न मिति, समय र स्थानमा सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने ब्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
नाम फिर्ता लिन चाहने व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने आयोगले जानकारी दिएको छ । बन्द सूचीबाट नाम फिर्ता लिन चाहने व्यक्तिले भोलि बिहान १० देखि दिउँसो ४ बजे सम्मको समय दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।