भीमदत्तनगर- कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै आएको छ।
२०२८ सालमा स्थापना भएको राष्ट्रिय माविलाई पछिल्ला वर्षमा शिक्षकलाई पारिश्रमिक दिन धौधौ परिरहेको छ। सात जना निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरजन साउदले बताए।
'प्राविमा तीन जना स्थायी र निमावि तथा माविमा एक–दुई जना राहतका शिक्षक छन्', अध्यक्ष साउदले भने, 'निजी स्रोतका शिक्षक नराख्ने हो भने अध्यापन नै प्रभावित हुन्छ।'
पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले आफूसित भएको साता बिघा जमिन ठेक्कामा दिएर शिक्षकलाई पारिश्रमिक दिँदै आएको छ।
'जमिन तीन वर्षको दुई लाख ७६ हजार रुपैयाँमा ठेक्कामा दिएका छौं', अध्यक्ष साउदले भने, 'ठेक्काबाट आएको रकम समेत तलब दिन सकिरहेका छैनौं।'
प्याराताल छेउमा रहेको विद्यालयको सात बिघा जमिनमा भारतले हस्तक्षेप गर्न खोजिरहेको उनले बताए।
पछिल्लो आठ महिनायता निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन नसकेको विद्यालय प्रशासनले जनाएको छ।
'विद्यालयलाई पाँच लाख जति ऋण छ', साउँदले भने, 'शिक्षकलाई पारिश्रमिकका लागि अनेक बहानामा पन्छाउनुपरेको छ।'
जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने अनुदान रकम समेत वितरण रोकिँदा आर्थिक समस्या भएको हो। समस्या पहिलेदेखि भए पनि जिल्लाबाट अनुदान रोकिँदा झन् समस्यामा परेको अध्यक्ष साउँदले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।