काठमाडौं– सरकार परिवर्तनको प्रक्रिया नजिकिँदै जाँदा नेपालमा यसै साता तीन वटा शक्ति राष्ट्र अमेरिका, बेलायत र भारतको आर्मीका उच्च ओहदाका अफिसरले भ्रमण गरिरहेका छन्।
बेलायती आर्मी चिफ निकोलस प्याट्रिक कार्टर बुधबार नेपाल आएका हुन्। उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कार्यालयमै गएर भेट गरेका थिए। कार्टर पोखरामा हुन लागेको गोर्खा रिक्रुटको परेडमा भाग लिन नेपाल आएको बताइएको छ। उनी ४ दिनको नेपाल बसाइपछि आउँदो सोमबार बेलायत फर्किंदै छन्।
अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रुक्स ब्राउन विहीबार राति नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन्। नेपाल बसाइका क्रममा उनले वरिष्ठ नेताहरूलाई पनि भेट्दै छन्। तर, कसलाई भेट्दै छन् भन्ने खुलाइएको छैन।
यस्तै, भारतीय आर्मी चिफ विपीन राउत शिवरात्रीको दिन काठमाडौंको टुँडिखेलमा मनाइने सेना दिवसको कार्यक्रममा भाग लिन नेपाल आउन लागेको भारतीय मिडियाले जानकारी दिएको छ। नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेन दास प्रधानलाई भेट्दै छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नुअघि तीन देशका उच्च आर्मी अफिसरको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय रक्षा मन्त्रालयको एक पदाधिकारीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘नयाँ कम्युनिस्ट सरकार गठन अगाडि तीन देशका आर्मीका उच्च पदाधिकारीको नेपाल आगमनले भौगोलिक रणनीतिको महत्व उजागर गरेको छ।’
ओली नेतृत्वको सरकार गठनको मिति नजिकिँदै जाँदा गत साता भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको दुई दिने भ्रमण गरेकी थिइन्। त्यतिबेला उनले ओलीसँग होटल सोल्टीमा ‘वान टु वान’ वार्ता गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।