२००९ सालमा एमए अध्ययन गर्न खड्गजीत बराल अलिगढ मुस्लिम विश्वविद्यालय भर्ना भएका थिए। त्यहीँ उनी एलएलबी पनि अध्ययन गर्न चाहन्थे। त्यसैले उनले दुईवटै विषयमा फारम भरे।
त्यतिबेला अलिगढ मुस्लिम विश्वविद्यालयका उपकुलपति थिए, डाक्टर जाकिर हुसैन, जो पछि भारतको राष्ट्रपति पनि भए। यहाँ खड्गजीतको मन पढाइभन्दा फुटबलमै रम्यो। उनको ‘क्लास एटेन्डेन्स’ ७० प्रतिशतमाथि उक्लिन सकेन। जसका कारण उनले फाइनल परीक्षा दिन नपाउने निश्चित भयो। दुई वर्षको पढाइ खेलकै कारण बिग्रिएपछि खड्गजीत अलमलमा परे। यसपछि उनी अन्तिम निर्णयमा पुगे, विश्वविद्यालय नै छोड्ने।
वास्तवमा उनलाई पटना विश्वविद्यालयमा अध्ययनरत उनका अर्का मित्र अनवरबाट एउटा प्रस्ताव आएको रहेछ– पटना पढ्न गएको खण्डमा सिधै फाइनल परीक्षामा प्रवेश गराइदिने। त्यसैले खड्गजीत अलिगढ मुस्लिम विश्वविद्यालयमा एमएको अध्ययन बीचैमा छोडेर २०११ सालमा पढ्न हिँडे, पटना विश्वविद्यालयतर्फ।
उनको यो निर्णयबाट जाकिर हुसैनलाई सबैभन्दा बढी तनाव भएछ। उनले खड्गजीतलाई निर्णय परिवर्तन गर्न आग्रह पनि गरे। तर, खड्गजीतले हुसैनको त्यो प्रस्ताव स्वीकार गरेनन्।
उनले एमए परीक्षा उत्तीर्ण गर्न दुई वर्ष पटना विश्वविद्यालयमा बिताए। यहीँ बस्दा उनले नेपाली खेल इतिहासमा नौलो लाग्ने कीर्तिमान बनाए, पहिलो नेपाली विद्यार्थीको हैसियतले भारतका तीन भिन्न विश्वविद्यालयबाट फुटबल प्रतियोगिता खेल्ने खेलाडीका रुपमा।
‘त्यतिबेला भारतमा सेन्टरहाफबाट कमै मात्रले खेल्थे। चारैतिर दौडिएर खेल्नुपर्ने भएकाले हत्तपत्त खेलाडी सेन्टरहाफबाट खेल्न रुचाउँदैनथे। म उत्तिनै बेला सेन्टरहाफबाट खेल्थें,’ नेपाल प्रहरीका पूर्वआइजी खड्गजीत भन्छन्।

राजा वीरेन्द्रसँग खड्गजीत (बीचमा)
खड्गजीतले खेलको वातावरण आफ्नै घरबाट पाए। उनका बाबु बहादुरसिंह फुटबलका नामुद खेलाडी थिए। बहादुरसिंहको जन्म भारतको काँगडामा भएको थियो। उनी ‘फस्र्ट गोर्खा राइफल’ मा कार्यरत रहँदा बेलायतीहरूसँग फुटबल र हकी खेल्ने गर्थे। भारतमा बेलायतको शासन हुँदा गोराहरू एउटा फुटबल टोली तयार पार्दै वार्षिक रूपमा खेल्न बेलायत जाने गर्थे। यस्तै, सन् १९२७–२८ तिर फुटबल खेल्न बेलायत गएका गोराहरूको टिममा बहादुरसिंह पनि संलग्न थिए। ११ सदस्यीय त्यो टोलीमा गोराभन्दा बाहिरका एकमात्र खेलाडी बहादुरसिंह थिए।
लाहुरे बाबुका कारण खड्गजीतले भारतका थुप्रै ठाउँमा बसेर राम्रो विद्यालयमा अध्ययन गर्ने मौका पाए। भारत स्वतन्त्र हुनुअघि अंग्रेजको पालामा भारतका प्रायः सबै विद्यालयमा अध्ययनका साथै खेलकुदलाई पनि उत्तिकै महत्व दिइन्थ्यो। त्यसैले, खड्गजीतले पनि राम्रो शिक्षासँगै खेलमा उन्नति गर्ने मौका पाए।
भारतको गोरखपुरमा सरकारी हाइस्कुलमा ८ कक्षामा अध्ययनरत रहँदा उनले खेल मैदानमै ठूलो तहल्का पिटिसकेका थिए। अझ भन्ने हो भने, त्यतिबेला १० कक्षाका विद्यार्थी मात्र स्कुले टिमको कप्तान बन्ने पुरानो नियम थियो। उनले त्यो नियम भंग गरे। र, ८ कक्षामै अध्ययनरत रहँदा स्कुले टिमको कप्तान बने। त्यतिबेला उत्तर प्रदेशमा आयोजना हुने स्कुलस्तरीय प्रतियोगितामा ५० भन्दा बढी स्कुलको सहभागिता हुने गर्थ्यो।
२००६ सालमा आग्रा विश्वविद्यालयबाट स्नातक गर्दा उनी त्यो विश्वविद्यालयको महत्वपूर्ण खेलाडी थिए। पछि अलिगढ मुस्लिम विश्वविद्यालयमा उनी फुटबलकै कारण चर्चित भए। उनले आग्रा, अलिगढ र पटना विश्वविद्यालयको टोलीमा रहँदै त्यतिबेला निकै प्रतिष्ठित मानिने विश्वविद्यालयस्तरीय प्रतियोगिता खेले।
नेपालमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनताका उनले नवलपरासीमा डाक्टर केआई सिंहको कमान्डमा लडे। उनका बाबुलाई आफ्नो छोरा राजनीतिमा लागेर बिग्रिएला भन्ने ठूलो डर थियो। तर, कालान्तरमा उनी राजनीतिमा होइन, नेपाल पुलिसमा जागिरे भए। उनले खेलकुदबाट आफूलाई कहिल्यै टाढा राखेनन्।
खड्गजीत नेपाल प्रहरीमा स्नातकबाट अफिसर ओहदामा भर्ना हुने पहिलो व्यक्ति हुन्। २०१३ सालमा नेपाल प्रहरीमा आबद्ध हुनुअघि उनले ठमेल र विद्या व्यायामबाट फुटबल खेले। २०१४ सालपछि नेपाल पुलिस क्लबमा आबद्ध भए।
२०२३ सालमा महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रको प्रमुख (कमान्डेन्ड) भएर आउनुअघि तालिम केन्द्र कृष्णशमशेर राणाको भोगटेबारीजस्तै थियो। उनले नै यसलाई व्यवस्थित गर्ने काम गरे। प्रहरी प्रधान कार्यालयमा खेल मैदान अनिवार्य गर्ने कामलाई उनले नै प्रोत्साहन गरेका थिए।
नेपालमा जुडो भित्र्याउने श्रेय पनि उनैलाई जान्छ। २०२३ सालमा जापानमा प्रहरी तालिम लिन जाँदा खड्गजीतले पहिलोपल्ट जुडो खेल देखेका थिए। तालिम सकेर नेपाल फर्किने क्रममा जापनी प्रहरी प्रमुख आरायले सोधेछन्, ‘दुई देशको सम्बन्ध राम्रो बनाउन जापानी प्रहरीका तर्फबाट मैले के मद्दत गर्न सक्छु?’ खड्गजीत त्यतिबेला जुडो खेलबाट निकै प्रभावित भएका रहेछन्। उनले भनेछन्, ‘जुडो लिएर जान चाहन्छु।’ खड्गजीतको यो कुरा सुनेर दंग परेका आरायले तीन महिनापछि नै खेल सामग्रीसहित जुडोका ६ डानप्राप्त प्रशिक्षक सकाराईलाई नेपाल पठाएका थिए।

जापनबाट आएका जुडो प्रशिक्षकको टिमसँग खड्गजीत (बसेका बीचमा)
खड्गजीतले नेपाल जुडो संघको अध्यक्ष भएर ६ वर्ष काम गरे। उनको कार्याकालमा नेपाली जुडोले निकै विकास गरेको थियो। जसको उदाहरण सन् १९९५ मा मद्रासमा सम्पन्न सातौं साफमा नेपालले जुडोतर्फ ३ स्वर्ण, ३ रजत र ५ कास्य जितेबाट स्पष्ट हुन्छ। नेपाल प्रहरीको आइजी हुँदा उनको एकमात्र सपना थियो, ‘विदेशी भूमिमा नेपाली प्रहरीको झन्डा फहराउने।’ उनले यसका लागि सबैभन्दा उत्तम विकल्पका रुपमा खेललाई सम्झे। त्यसैले, उनले २०३३ सालतिर नेपाल पुलिसको फुटबल टोलीलाई दार्जीलिङको प्रतिष्ठित गोर्खा ब्रिगेड कप र नयाँ दिल्लीमा सञ्जय गान्धी स्मृति फुटबल प्रतियोगितामा खेल्न पठाएका थिए। पुलिसले देशबाहिरका यी दुवै प्रतिष्ठित प्रतियोगिता जितेर वाहवाही पाएको थियो।
उनले २०२७ सालतिर नेपाल हकी संघको अध्यक्ष भएर समेत काम गरे। उनको कार्यकालमा नेपालमा हकी सक्रिय थियो। उनले नेपाली हकी खेलाडीलाई तयार पार्न पाकिस्तानबाट दुई राष्ट्रिय खेलाडी मुर्तजा र सैयद इकबाललाई झिकाएका थिए।
अहिले ९० वर्षको उमेरमा पनि उनले खेल मोहलाई त्याग्न सकेका छैनन्। खेल सम्बन्धी आफ्ना संस्मरण सुनाउँदै गर्दा उनको मुहार देखिने चमकले त्यसलाई प्रस्ट पार्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।