काठमाडौं– डकुमेन्ट्री बनाउने नाममा कलाकार राजेन्द्र खड्गीले मानवतस्करी गरेको प्रहरीले जनाएको छ। डकुमेन्ट्री बनाउन भनेर उनले ११ जनालाई दक्षिण कोरिया पठाएर लाखौं असुलेको अनुसन्धानमा खुलेको छ।
खड्गीलाई सिआईबीले बिहीबार पक्राउ गरिसकेको छ। सिआईबीका अनुसार उनीविरुद्ध काठमाडौंस्थित कोरियन दुतावासले नै उजुरी दिएको छ। एक कोरियन नागरिकसँगै मिलेर खड्गीले मानव तस्करी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेपछि खड्गीले आफुलाई कोरियनले फसाएको दाबी गरेका छन्।
सिआर्ईबी स्रोतका अनुसार गत जुलाईमा उनले ११ जनालाई भिजिट भिषामा दक्षिण कोरियामा लिएर गएका थिए। उनीहरु हाल दक्षिण कोरियामै छन्। भिषाको म्याद सकिएपछि पनि उनीहरु नफर्किएको भन्दै दुतावासले उजुरी गरेपछि अनुसन्धान गरी पक्राउ गरिएको सिआईबीले जनाएको छ। खड्गीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अघि बढाइएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
पक्राउपछि खड्गीले प्रहरीसँग कागजसमेत गरेका छन्। ‘११ जना नेपाल नफर्किएमा म जिम्मेवार हुन्छु भन्ने कागज उनले दुतावासमा पेश गरेका छन्,’ अनुसन्धानमा आबद्ध सिआर्ईबीका एक अधिकारीले भने,‘ती युवाहरुलाई दक्षिण कोरिया पठाएर उनले पैसा असुलेको देखिन्छ।’
दक्षिण कोरिया गएका युवाहरुको बारेमा पनि केही खुलेको छैन। उनीहरु उतै लुकेर काम गरिरहेको हुनसक्ने आशंका गरिएको छ।
खड्गी कलाकार भएकाले बिश्वास गरेर दुतावासले भिषा दिएको थियो। त्यसको दुरुपयोग गरी उनले मानवतस्करी गरेका हुन्। खड्गी चर्चित द्वन्द्वनिर्देशक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।