काठमाडौं– लागूऔषध तस्करी मुद्दामा पक्राउ परेका एभरेष्ट होटलमा सञ्चालक मस्कुर अहमद लारीलाई जिल्ला अदालत काठमाडौंले एक दिन थुनामा राख्ने आदेश दिएको छ। लारी बिरामी भएको भन्दै अस्पताल भर्ना भएका छन्।
लारीलाई शुक्रबार अदालतमा पेश गर्ने गरी एक दिन हिरासतमा राख्न अदालतले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पणडेले बताए।
२१ वर्षअघिको चरेस तस्करी मुद्दामा उनलाई महानगरीय प्रहरी कार्यालय, रानीपाखेरीले पक्राउ गरेको हो। पक्राउ परेलगत्तै उनलाई छाड्न भन्दै उच्च पदस्थ व्यक्तिहरुले प्रहरीलाई दबाब दिएका थिए।
१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो। उक्त चरेस लारीले पठाएको अनुसन्धानमा खुलेको थियो।
प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। लारी फरार रहदै आएका थिए। पहुँचका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।
लारीले एभरेष्ट होटलको शेयरसम्बन्धि मुद्दा दुई दिनअघि मात्र जितेका थिए। उनको होटल भने २०७२ साल बैशाखको भूकम्पयता बन्द छ।
लारी फरार रहदै आएको खुलेपछि पक्राउ गरी अदालत पेश गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी जय बहादुर चन्दले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।