काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। बिहीबार परिसूचक ९ दशमलब शून्य १ अंकले बढेर १ हजार ३ सय ९१ दशमलब शून्य ३ अंकको बिन्दुमा रोकिएको छ।
बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने खासै सुधार आएको छैन। यस दिन १ सय ५२ कम्पनीका २६ करोड ९१ लाख १३ हजार ७ सय ३५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि बुधबार २६ करोड ५५ लाख ६६ हजार ७ सय ३३ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए।
प्रिमियम मूल्यमा सेयर निष्कासनको प्रस्ताव गरेसँगै बढ्न थालेको नेपाल बैंकको कारोबार बिहीबार पनि सर्वाधिक भएको छ। बैंकको २ करोड ४१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
त्यस्तै, बिहीबार मात्र हकप्रद सेयरका लगनीकर्ताले पनि पाउनेगरी आकर्षक बोनस घोषणा गरेको प्राइम लाइफ इन्स्योरेन्सको १ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका ८ समूहमा हरियाली छाएको छ भने २ समूहमा गिरावट आएको छ। यस दिन फाइनान्स समूह शून्य दशमलब १६ अंकले घटेको छ। त्यस्तै, ट्रेडिङ समूह शून्य दशमलब शून्य ८ अंकले घटेको छ। जबकि बुधबारको कारोबारमा यी दुई समूहका लगानीकर्ताले कमाउँदा अरु समूहले गुमाएका थिए।
यस दिन बिमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिमा समूह ७२ दशमलब ९४ अंकले बढेको छ भने होटल समूह १३ दशमलब ४३ अंकले बढेको छ।
यो दिनको कारोबारमा सर्वाधिक गुमाउनेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ९ रुपैयाँ अर्थात् ९ दशमलब ९८ प्रतिशतले घटेको छ। त्यस्तै, एनआइबिएल सम्वृद्धि फन्डका लगानीकर्ताले प्रतिकित्ता १ रुपैयाँ गुमाएका छन्।
बिहीबार सर्वाधिक कमाउनेमा सूर्योदय लघुवित्तका लगानीकर्ताहरु छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९६ प्रतिशतले बढेको छ। त्यस्तै, कालिका माइक्रोक्रेडिको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले बढेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।