एजेन्सी- 'साउथ चाइना सी'मा रहेको चिनियाँ सैनिक केन्द्रको नयाँ तस्बिरहरु सार्वजनिक भएका छन्। फिलिपिन्सको एक पत्रिका फिलिपिनी डेली इन्क्वेररले ती तस्बिर सार्वजिनिक गरेको हो।
पत्रिकाले चीनले आफ्नो ‘अनियन्त्रित शक्ति’को आडमा स्पाट्ली आइल्यान्डमा भएका ७ चट्टानी भूभागलाई सैनिक अखडामा बदल्दै धावन मार्ग तथा भ्युटावरको विशेषतामा समेत परिवर्तन गरेको लेखेको छ।
आसियानका सदस्य राष्ट्रहरु मलेसिया, ब्रुनाई, फिलिपिन्स, भियतनाम तथा ताइवानले समेत आफ्नो दाबी गर्दै आएका समुद्री टापुहरुमा चीनले आफ्नो सैनिक अखडा तयार गरेको हो।
ती समुद्री टापुमा कसको स्वामित्व रहन्छ भन्नेमा लामो समयदेखि विवाद रहँदै आएको छ।
फिलिपिनी डेली इन्क्वेररका अनुसार ती तस्बिर जमिनको सतहभन्दा करिब १ हजार ५ सय मिटरको उचाइबाट लिइएका हुन्। सन् २०१७ को पछिल्लो ६ महिनामा तस्बिर खिचिएको बताइएको छ।
संयुक्त राष्ट्रसंघ समर्थित अदालतले फिलिपिन्सको हिस्सामा रहने भनेर फैसला सुनाएको पंगनिबन समुद्री टापुमा समेत चीनले आफ्नो सैन्य अखडा बनाएको छ।
सार्वजनिक तस्बिरहरुमा मिसाइल आक्रमणका लागि प्रयोग गरिने पानीजहाज, कंक्रिट हेलिप्याड तथा विभिन्न सैनिक भवनहरु देख्न सकिन्छ।
साउथ चाइना सीमा पर्ने विवादित टापुहरुमा चीनको लगातारको हस्तक्षेपले ती टापुहरुमा दाबेदारी जनाइरहेका अन्य देशहरुको भरोसा कम भएको दक्षिण पूर्वी एसियाली विदेश मन्त्रीले बताए। आफ्नो प्रतिक्रिया दिँदै उनले चीनको यस्तो कार्यले क्षेत्रीय तनाव बढ्न सक्ने इंगित गरे।

बेइजिङले सो क्षेत्रमा पर्ने सबै जलमार्गलाई आफ्नो दाबी गर्दै समुद्री द्वीप तथा चट्टानलाई समुद्री टापुको रुपमा परिणत गरेको छ। जसमा सैन्य सहायताका सामाग्री तथा सुविधाहरुको व्यवस्था छ।
आसियान सदस्य राष्ट्रहरुले समेत दाबी गर्दै आएका तीन ठूला द्वीप कागिटिंगन, पंगनिबन र जमोरामा सैन्य विमानको अवतरण गर्न चीनले धावनमार्ग निर्माण गरिसकेको छ।
गत डिसेम्बरमा अमेरिकासम्बद्ध बौद्धिक समूहले राडार तथा उपग्रहको मदतबाट लिइएका तस्बिर सार्वजनिक गरेको थियो। सो घटनापछि चीनले उक्त निर्माण कार्यलाई बचाउ गर्दै ‘सामान्य’को संज्ञा दिएको थियो।

पछिल्लो पटक यी तस्बिर सार्वजनिक भएपछि साउथ चाइना सीका टापुहरुलाई लिएर चीन तथा आसियान राष्ट्रहरुबिचमा पुनः विवाद बढ्ने आकलन गरिएको छ।
चीनसँग सिमाना जोडिएका मुलुकहरुलाई जोड्न ‘वान बेल्ट वान रोड’को अवधारणामा अप्रत्यक्ष रुपमा चीनको सैन्य विस्तारलाई समेत जोडेर हेर्ने गरिन्छ।
चिनियाँ राष्ट्रपति सि जिन पिङले घोषणा गरेको सो बृहत् परियोजनाले एसिया, अफ्रिका तथा युरोपका देशहरुमा व्यापारको विस्तार गर्ने योजना बनाइएको छ। जसअन्तर्गत बन्दरगाह, रेल तथा सडकको निर्माणले मुख्य प्राथमिकता पाउनेछ।
















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।