काठमाडौं- पछिल्लो समय विश्वको ध्यान इलेक्ट्रिक सवारीमा केन्द्रित भएको छ। कारदेखि ठूला बस हुँदै स्कुटर तथा बाइकसम्म इलेक्ट्रिक फर्ममा उत्पादन हुन थालेका छन्।
यस्तैमा विश्वका ठूला कार उत्पादक कम्पनीहरुले इ-स्कुटर तथा इ-बाइक (साइकल)लाई भविष्यको सिटी ट्रान्सपोर्टको रुपमा लिएर उत्पादन गर्ने बताएका छन्। ती कम्पनीहरुले भविष्यमा यस्ता सवारीहरुकै बाहुल्यता हुने भन्दै धमाधम आफ्ना कन्सेप्टहरु सार्वजनिक गर्न थालेका छन्।
अउडीले केही समयअघि इ-ट्रोन स्कुटर बनाउने घोषणा गरेको थियो। अउडीको यो घोषणा इ-ट्रोन इलेक्ट्रिक कार बनाउने घोषणा गरेको एक वर्षपछि आएको हो। त्यस्तै बिएमडब्लू र फोर्डले यसअघि नै व्यक्तिगत इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने बताइसकेका छन्।
विश्वका ६ ठूला सवारी उत्पादकले बनाउने भनेका इलेक्ट्रिक माइक्रो-मोबिलिटीका बारेमा यहाँ उल्लेख गरिएको छ।
फोर्ड सुपर क्रुजर
फोर्ड सुपर क्रुजर अमेरिकी कार उत्पादकको पहिलो औपचारिक इलेक्ट्रिक बाइक हो। यो बाइकमा ४८ भोल्टको ब्याट्री प्रयोग गरिएको छ भने यसले ५ सय वाटको मोटर चलाउनेछ।
फोर्डले यो बाइकको मूल्य ३ हजार ६ सय ९५ अमेरिकी डलर तोकेको छ। २० माइल प्रतिघण्टा टप स्पिड भएको यो बाइकको तौल ६० पाउन्ड छ। फोर्डले यो बाइक इलेक्ट्रिक बाइक निर्माता पेडेगोसँगको सहकार्यमा उत्पादन गरेको हो।
लिथियम आयन ब्याट्री प्रयोग भएको यो बाइक चार्ज गर्न ५ घण्टा लाग्छ भने फुल चार्जले १५ देखि ३० माइलसम्म कुदाउन सकिन्छ।
अउडी इ-ट्रोन स्कुटर
जर्मन कार उत्पादक कम्पनी अउडीले आफ्नै इलेक्ट्रिक स्कुटर विकास गरेको छ।
अउडीको इलेक्ट्रिक इ-ट्रोन स्कुटर स्केटबोर्ड र स्कुटरको क्रर हो, जुन परम्परागत स्कुटर जस्तै देखिएको छ। यो स्कुटरमा एक हातले चलाउने ह्यान्डलबार रहेको छ। फोल्ड गर्न मिल्ने यो स्कुटरको तौल २६ पाउन्ड छ भने एकपटकको फुल चार्जमा १२.५ माइल कुद्छ।
सन् २०२० सम्ममा बजारमा आउने बताइएको यो स्कुटरको मूल्य २ हजार २ सय ४० डलर पर्ने अनुमान छ।
फक्सवागन स्ट्रिटमेट र सिटी-स्काटर कन्सेप्ट स्कुटर
जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनले २०१९ को जेनेभा अटो शोमा इलेक्ट्रिक स्कुटरको कन्सेप्ट सार्वजनिक गरेको थियो।
स्ट्रिटमेट मिडियम रेन्जको स्कुटर हो। यो बाइसाइकल र किक स्कुटरको क्रस भएको कम्पनीले जनाएको छ। २.७ हर्सपावरको मोटर रहेको यो स्कुटरको तौल १४३ पाउन्ड छ भने अधिकतम गति २८ माइल प्रतिघण्टा छ। दुई घन्टामा फुल चार्ज हुने स्कुटरले एकपटकको चार्जमा २१ माइल माइलेज दिन्छ।
त्यस्तै, फक्सवागनको अर्को इलेक्ट्रिक स्कुटर सिटी-स्केटरमा ०.५ हर्सपावरको मोटर रहेको छ। यसको अधिकतम गति १२ माइल प्रतिघण्टा छ। एक घण्टामा ५० प्रतिशत चार्ज हुने यो स्कुटरले फुल चार्जमा ९ माइल माइलेज दिन्छ। यसको मूल्यबारे कम्पनीले हालसम्म केही खुलाएको छैन।
बिएमडब्लू इ-स्कुटर
बिएमडब्लूले इ-स्कुटर निर्माणका लागि अर्वान मोबिलिटी उत्पादक माइक्रो मोबिलिटीसँग सहकार्य गरेको छ।
बिएमडब्लू इ-स्कुटरको अधिकतम गति १२ माइल प्रतिघण्टा छ भने फुल चार्जमा ७.५ माइल कुद्न सक्छ। यो स्कुटर दुई घन्टामा फुल चार्ज हुन्छ। यो स्कुटरको मूल्य करिब ८ सय ९६ डलर पर्ने कम्पनीले जनाएको छ।
जनरल मोटर्स एआरआइभी मेल्ड एन्ड मर्ज
जनरल मोटर्सले गत फेब्रुअरीमा नयाँ इ-बाइक एआरआइभी बनाउने घोषणा गरेको हो।
कम्पनीले मेल्ड र मर्ज नामका दुई इलेक्ट्रिक स्कुटर ल्याउने भएको हो। पेडल–असिस्ट बाइलको अधिकतम गति १५ माइल प्रतिघन्टा र फुल चार्ममा ४० माइल कुद्न सक्छ। यो स्कुटर फुल चार्ज हुन साढे ३ घन्टा लाग्छ।
जनरल मोटर्सका यी बाइक हाल बेल्जियम, जर्मनी र नेदरल्यान्डमा उपलब्ध रहेका छन्। जर्मनीमा मेल्डको मूल्य २ हजार ७९ डलर र मर्जको मूल्य ३ हजार ७ सय ५१ डलर रहेको छ। अन्य देशमा मूल्य केही फरक रहेको देखिन्छ।
प्युजो इएलसी-०१ इ-बाइक
१९औं शताब्दीदेखि कार उत्पादन गर्दै आएको फ्रान्सेली कम्पनी प्युजोले पनि माइक्रो इलेक्ट्रिक बाइक बनाउने भएको छ।
प्युजोले अल्मुनियम फ्रेममा सिटी बाकर्सहरुलाई आकर्षित गर्न नयाँ बाइक डिजाइन गरेको हो। प्युजोले बनाउने इएलसी-०१ मा १८.६ देखि ४३.५ माइलसम्म गुड्ने जनाएको छ। करिब ५० पाउन्ड तौल भएको यो इ-बाइकमा एलइडी डिस्प्ले रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।