जनकपुर- क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पना अनुसार निर्माण सुरु भएको जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन ७ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन। सरोकारवाला निकायको ढिलासुस्तीका कारण निर्माण कार्यमा ढिलाइ भएको हो।
भारतको इलाहाबादस्थित इन्दिरा गान्धी विमानस्थलको नक्सा बमोजिम निर्माण कार्य सुरु गरिए पनि प्राविधिक त्रुटि तथा रकम अभावका कारण पूर्णता पाउन सकेको छैन। नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको नयाँ टर्मिनल भवनको एक चरणको काम मात्र पूरा भएको विमानस्थलका अधिकारीहरु बताउँछन्।
७ वर्षदेखि निर्माणाधीन रहेको विमानस्थलको फलाम स्ट्रक्चरको नयाँ भवन ठडिए पनि अन्तिम रूप नदिँदा प्रयोगविहीन बनेको छ। आन्तरिक टर्मिनल भवन अन्तर्गत जनकपुर विमानस्थलमा बनाइएको यो भवन नेपालकै नमुना हो। अढाई तले यो भवन फलामकै जगमा उभ्याइएको छ।
भवनमा अन्य पूर्वाधारहरु थप्ने विषयमा निर्णय गर्न सरकारले ढिलाइ गरेको कारण पनि निर्माण कार्य अल्झिएको बताइएको छ।
२०६९ कात्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए। डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो।
नागरिक उड्डयन प्राधिकरणको लापरवाहीले डिजाइनमा नै त्रुटि भएकाले समयका काम हुन नसकेको ठेकेदार कम्पनीको आरोप थियो। ठेकेदारले काम गर्न ढिलासुस्ती गरेपछि डिजाइन र स्टिमेटमा सुधार गरी ६ करोड रुपैयाँ थप गरेर अहिले अर्को निर्माण कम्पनी ढेकिंग ग्याल्बा उमा एन्ड कम्पनीको मूल ठेक्कामा स्थानीय अम्बे बिल्डर्सले सब कन्ट्याक्ट पाई निर्माण कार्य अघि बढाएको प्राथिकरणका उपप्रबन्धक नलविक्रम थापाले जानकारी दिए। ‘नयाँ टर्मिनल भवन बनाउँदा लगाइएको ठेक्कामा त्रुटि देखियो, भवन त बन्यो, तर फिनिसिङको काम रोकियो,' उनले भने।
थापाले लामो समयको कसरतपछि नागरिक उडड्यन प्राधिकरणले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनलाई अन्तिम रूप दिन अर्को ठेक्का दिएको बताए। उनले आउने पुससम्ममा काम सम्पन्न गरी टर्मिनल भवन सञ्चालन गरिने जानकारी गराए।
चाप बढे पनि सास्ती उस्तै
जनकपुर प्रदेश २ को राजधानी भएपछि अहिले हवाई यात्रा गर्नेको चाप ह्वातै बढेको छ। नयाँ टर्मिनल भवनसँगै अत्याधुनिक टावर पनि बनाइएको छ। बर्खायाममा डुबानमा पर्ने पुरानो टर्मिनल भवन भत्काएर एप्रोन एरिया बनाइने जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले बताए।
२०२४ असोज ८ देखि नै सञ्चालनमा आएको जनकपुर विमानस्थल देशकै पुरानो विमानस्थलमध्ये एक हो।
एउटामात्रै जहाज उड्न मिल्नेगरी भारत सरकारले बनाइदिएको विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र अव्यवस्थित छ। दुईतले सानो भवनकै माथिल्लो तल्लामा रहेको पुरानै टावरबाट जहाजको उडान र अवतरण भइरहेको छ।
दैनिक यात्रुको चाप रहने जनकपुर विमानस्थलमा भवन अभावमा यात्रु बस्ने ठाउँसमेत नभएको बुद्ध एयर जनकपुर कार्यालयका स्टेसन म्यानेजर विजयप्रसाद सिंहले बताए। अहिले विमानस्थलमा दैनिक ६ सयभन्दा बढी यात्रु आउजाउ गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले न्यूनतम सेवासमेत उपलब्ध गराउन नसकेपछि यात्रुलाई सास्ती भएको सिंहले गुनासो गरे।
टर्मिनल भवनको अभावका कारण ५२ वर्ष पुरानो भवनबाटै यात्रुले सेवा लिनुपर्ने बाध्यता छ। प्रत्येक उडानमा २ सय रुपैयाँ विमानस्थल कर तिर्ने गरेका यात्रुले आफूले तिरेको कर बापतको कुनै सेवा जनकपुर विमानस्थलबाट पाउँदैनन्।
विमान कम्पनीको काउन्टर बीचमै हुँदा यात्रुलाई सानो भवनमा विमान उड्दासम्म प्रतीक्षा गर्नुपर्दा उभिएर समय बिताउनुपर्ने बाध्यता छ।
‘शुद्ध खानेपानी, शौचालय, फ्रि कल र राम्रो बस्ने ठाउँ उपलब्ध गराउनु पर्ने हो,’ स्टेसन म्यानेजर सिंहले भने, ‘यहाँ त न्यूनतम सेवासमेत उपलब्ध हुँदैन। यात्रुहरुलाई सास्ती भोगेर यात्रा गर्नुपरेको छ।’
स्तरोन्नति हुँदै
विमानस्थल प्रमुख सन्तोष ढकालले भवन अभावमा यात्रुहरुले सास्ती भोग्नु परेको स्वीकारे। यात्रुहरुको चापलाई ध्यानमा राख्दै स्तरोन्नतितर्फ आफूहरु गम्भीर रहेको उनको भनाइ छ। विमानस्थल स्तरोन्नति गर्न ४ बिघा जग्गा अधिग्रहण गरी तारजालीले छेकबार गरिसकिएको र रनवे पनि विस्तार भइसकेको प्रमुख ढकालले बताए।
‘नागरिक उडड्यन प्राधिकरणले धावन मार्ग र पार्किङस्थल फराकिलो गर्नुका साथै स्तरोन्नतिको काम गरेको छ। पछिलो समय वारुण यन्त्र र एक्सरे मेसिनको समेत व्यवस्था मिलाइएको छ,' प्रमुख ढकालले भने।
राति उडानको पनि सफल परीक्षण गरिसकेको यस विमानस्थलमा नेपाल आयल निगमले जहाजमा इन्धन भर्ने व्यवस्था पनि मिलाएको छ। तर टर्मिनल भवनको अभावका कारण यात्रुलाई भने सास्ती छ।
अहिले जनकपुर र काठमाडौंका लागि बुद्ध र यती एयरका ५ वटा विमानले दैनिक उडान गर्दै आएको विमान स्थल प्रमुख ढकालले जनाए। उनले गत असारमा ५ हजार ५ सय यात्रुले ओहोरदोहोर गरेको साउनमा यात्रु संख्या बढेर ७ हजार ५ सय पुगेको बताए। यात्रुको चाप हेरेर थप श्री एयरलाइन्सको एक विमान सेवा थप हुने उनले जानकारी दिए। साथै जनकपुरबाट रात्रिकालीन सेवासमेत सुरु हुने उनले बताए।
अहिले जनकपुरबाट बुद्ध एयरको ७२ सिटे विमानको ३ उडान र यति एयरको एक ७२ सिटे र एक २८ सिटे उडान भर्दै आएको छ।
निर्माणाधीन नयाँ टर्मिनल भवनको केही दिनअघि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अवलोकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।