काठमाडौं– बुधबार नेप्से परिसूचक १२ दशमलब शून्य १ अंकले घटेर १ हजार ३ सय ८२ दशमलब शून्य २ अंकको बिन्दुमा रोकिएको छ।
बुधबार नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार आएको छ। यस दिन १ सय ५२ कम्पनीका २६ करोड ५५ लाख ६६ हजार ७ सय ३३ रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। जबकि मंगलबार २४ करोड २० लाख ९६ हजार १ सय ४६ पैयाँ बराबरको सेयर किनबेच भएका थिए।
आजै मात्र प्रिमियम मूल्यमा सेयर निष्कासनको प्रस्ताव गरेको नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ५ करोड १८ लाख ८ हजार ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बैंक सञ्चालक समितिले प्रिमियम मूल्यमा १ करोड ७६ लाख ८४ हजार ५ सय ५८ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, सिभिल बैंकको बुधबार १ करोड १ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार कारोबारमा आएका ८ समूहमा गिरावट आएको छ भने दुई समूह बढेका छन्। बुधबार फाइनान्स समूह ४ दशमलब ३३ अंकले बढेको छ। त्यस्तै, ट्रेडिङ समूह ३ दशमलब २ अंकले बढेको छ।
यस दिन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। बुधबार बिमा समूह ८५ दशमलब शून्य ५ अंकले घटेको छ भने होटल समूह १८ दशमलब १३ अंकले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १६ दशमलब २९ अंकले घटेको छ।
यो दिनको कारोबारमा सर्वाधिक गुमाउनेमा कालिका माइक्रोक्रेडिटका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ अर्थात् ४ दशमलब १८ प्रतिशतले घटेको छ। त्यस्तै, समिट माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ४२ रुपैयाँ गुमाएका छन्।
बुधबार सर्वाधिक कमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सका लगानीकर्ताहरु छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ६ दशमलब १६ प्रतिशतले बढेको छ। त्यस्तै, सूर्योदय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँले घटेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।