अमेरिका- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्।
उनले यस्तो कार्य मानवीय आधारभूत अधिकारविरुद्धको कार्य भएको टिप्पणी गरे। नागरिकको बाँच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथि यस्तो हतियारको प्रयोग गर्नु भनेको पनि जघन्य अपराध हो।, उनले भने।
गत हप्तामात्र अमेरिकाले सिरियाली सेनाले यस्ता हतियारको प्रयोग गरिरहेको भन्दै यदि अनुसन्धानबाट त्यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने बताएको थियो। तर सो आरोपको सिरियाली सरकारले भने खण्डन गरेको थियो।
अमेरिकाले सिरियाली सेनाले विद्रोहीविरुद्धको कारबाहीका क्रममा देशको पूर्वी घटुल क्षेत्रमा मानव स्वास्थ्यमा अत्यन्तै घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो।
महासचिव गुथ्रेसका प्रवक्ता फराह हकद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सिरियाली उत्तरी प्रान्त इदलिबलगायतका स्थानमा सरकारी पक्षबाट यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरुलाई प्राप्त भएको जनाइएको छ।
यस्ता हातहतियारको प्रयोग भएको पुष्टि भएमा सिरियामाथि हदैसम्मको कारबाही गरिने पनि महासचिव गुथ्रेसले जनाएका छन्।
सिरियाली सरकारले गत डिसेम्बरयता उत्तरी क्षेत्र हामा र दक्षिणी इदलिबमा बढी आक्रमण गरेको बताइएको छ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले ती क्षेत्रबाट गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका जनाएको छ।
ती क्षेत्रमा जारी कारबाहीका क्रममा सयौँ नागरिक मारिएका छन्। यद्यपि त्यस विषयमा अनुसन्धान भने जारी रहेको छ।
सिरियामा गएको करिब सात वर्षदेखि जारी हिंसाबाट हालसम्म ३ लाखभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ।
उता सिरिया सरकारले विद्रोहीविरुद्धको कारबाहीमा सरकारी सेनाद्वारा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ।
सिरियाली विदेश मन्त्रालयले हालैमात्र पनि एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको आरोपको खण्डन गरेको हो। सरकारी सेनाबाट यस्ता हतियारको प्रयोग नभएको पनि उसले स्पष्ट पारेको छ।
सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।