काठमाडौं- कवि बसन्त चौधरीका कविता अमेरिकाको न्युयोर्कमा गुञ्जिएका छन्। विश्व–काव्य यात्राअन्तर्गत दोस्रो चरणको एकल कविता वाचन बुधबार साँझ अमेरिकाको न्युयोर्क सहरमा सम्पन्न भएको हो।
कार्यक्रममा चौधरीले करिब डेढ दर्जन कविता प्रस्तुत गरेका थिए। नेपाली भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउने उद्देश्यले उनले एकल कविता वाचन प्रस्तुत गर्दै आएका छन्।
उनका कवितामा आध्यात्मिक चेत प्रखर हुन्छन्। कविताको सुरुमा नै आध्यत्मिक चेतयुक्त कविताबाट मंगलाचरण चौधरीले राजनीतिक विसंगति, सामाजिक घटना र प्रकृतिबारे करिब २ घन्टा कविता सुनाएका थिए।
चौधरीले ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता बढी रूचाइएका थिए।
क्यानडामा काव्य यात्रा सम्पन्न गरी न्युयोर्क आइपुगेका कवि चौधरीले विश्व–काव्य यात्राको २०औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैछन् ।
उद्योग व्यापारसमेत तल्लीन चौधरी आफूलाई कवि नभई काव्यको साधक मात्र मान्छन्। ‘म आफूलाई कवि नभई काव्यको उपासक मान्दछु। यस क्रममा ममा जुन भाव उर्लन्छन्, तिनमा डुबुल्की मार्दा कहिले सिपी, कहिले मोती जसलाई अक्षरको रुप दिँदा कविता बन्छन्।’
न्युयोर्कको शृंखला १९औँ हो भने यो शृंखलाको आयोजना अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास) न्युयोर्क च्याप्टरले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।