काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले भाषासम्बन्धी सरकारको तथ्यांक सही नभएको दाबी गरेका छन्।
उपकुलपति गुरुङले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धी तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने पनि स्पष्ट पारे।
बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भाषा शास्त्रीहरुले समेत भाषासम्बन्धी तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि स्मरण गराए।
उनले भाषा तथा जातजातिसम्बन्धी तथ्यांक निर्माण गर्दा समुदाय फरक भए पनि उनीहरुको भाषा एउटै हुने गरेकाले सोही अनुसारको तथ्यांक निर्माण गर्न पनि केन्द्रीय तथ्यांक विभागको गम्भीर ध्यानाकर्षण गराए।
विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो।
विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सो सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।