पोखरा– पोखराको लोकप्रिय पर्यटकीय क्षेत्र सराङकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सोमबारबाट सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ शुरु भएको छ। महायज्ञमा दुई दिनमै २३ करोड रुपैयाँ संकलन भएको छ।
सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले एक दशक अघि सुरु गरिएको विशाल शिव मन्दिरको पूर्णताका लागी महायज्ञ आयोजना गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।
महायज्ञबाट संकलित रकमबाट ५१ फिटको शिवमूर्ति स्थापना गर्ने, मन्दिरको पूर्णताको लागि १०८ शिवलिङ, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर, विशाल बौद्ध मन्दिरको निर्माण गरिने छ। त्यस्तै गुरुयोजना अन्तर्गत शिव मन्दिर निमार्ण, बहुउद्देश्यीय भवन निर्माण, ऐतिहासिक संग्रालयल, भ्यूटावर, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोज स्थल आदिको निर्माणमा खर्च गरिने जिसीले बताए ।
पोखरा लेखानाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापाले २९ करोडको प्रस्तावित गुरु योजना पुरा गर्न महायज्ञ आयोजना गरिएको बताए। महायज्ञको दोस्रो दिनसम्म नगद तथा जिन्सी गरी २३ करोड बराबरको सहयोग घोषणा गरिएको छ।
सराङकोटमा धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन नै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टद्वारा १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन्।
त्यस्तै पूर्व सभासद् सूर्य बहादुर केसीले १० तोला सुन सहयोग गर्ने घोषणा गरे। त्यस्तै पण्डित कुल प्रसाद पहारी (घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेम बहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन ।
एक सय रोपनी क्षेत्रमा फैलिएको सराङकोट क्षेत्रको विकासका लागी पोखरा लेखनाथ महानगरपालिकामा १३ करोडको पूर्वाधार योजना पेश भईसकेको छ। २०६१ सालमा सुरु गरिएको मन्दिर निर्माणका लागी हालसम्म ९७ लाख भन्दा बढि खर्च भइसकेको छ।
निर्माणको चरणमा रहेको अन्नपूर्ण केवलकार प्रा.लि, उद्योगी व्यवसायी, राजनीतिक दल, स्थानीय सहयोगीहरुको संलग्नतामा बृहत्तर योजना अन्तर्गत केही पुर्वाधारका योजना प्रस्ताव गरिएको पनि जिसीले बताए।
समुद्री सतहदेखि १५९२ मिटरको उचाईमा रहेको सराङकोट विशेष गरी साहसिक पर्यटनको केन्द्र विन्दु हो। प्याराग्लाइडिङ, जिप फ्ल्याएर सञ्चालित छ । त्यसमा पनि अब केवलकार निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पोखराका पर्यटन व्यवसायीहरु बताउँछन्।
महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतम रहेका छन्। महायज्ञमा दैनिक रुपमा श्रीमद्भागवत कथा वाचन, लघुरुद्री पाठ, दानविर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायतको धार्मिक कार्यक्रम राखिएको सराङकोट समाज सेवा युवा क्लबमा पूर्व अध्यक्ष बेल बहादुर जिसीले जानकारी दिए । माघ २२ देखि सुरु भएको महायज्ञ फागुन १ गतेसम्म संचालन हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।